ब्रेकअपपछि 'विनोद'मा पनि सौगातको जोडी बन्दै सृष्टि
नायक सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ ब्रेकअपपछि पनि निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन् । केही समयअघि फिल्म ‘भाइरल गोर्खे’मा एकसाथ काम गरेका यो जोडी अब फिल्म ‘विनोद’मा पनि एकसाथ देखिने भएका हुन् ।
निर्देशक बलिराम चौहानले निर्देशन गर्ने यो फिल्मको बिहीवार ‘एआई जेनेरेटड’ पोस्टर सार्वजनिक गरिएको थियो । सार्वजनिक पोस्टरमा नायक सौगात मल्लको मात्रै नाम लेखिएको थियो। तर, यो फिल्मको पोस्टर सृष्टिले पनि आफ्नो फेसबुक र इन्स्टामा सेयर गरेकी छिन् । तर, पोस्टरमा उनको नाम छैन ।
बुझिएअनुसार, अब यो फिल्ममा सृष्टिको पनि अभिनय रहनेछ । पौराणिक कथामा निर्माण हुने यो फिल्म ‘पिरियोडिक-वार’ ड्रामा हो। यो फिल्ममा सौगात भगवान् शिवको अवतारमा ‘डाइनामिक’ चरित्रमा प्रस्तुत हुनेछन् ।
आगामी मंसिर माहिनाबाट छायांकन सुरु गर्ने यो फिल्मलाई बागमती नदीसँग जोडेर तराई र पहाडको संगम स्थलमा खिचिने निर्माणपक्षले जनाएको छ। फिल्म सन् २०२५ मा रिलिज हुनेछ । अहिले ‘पिताम्बर’को छायांकनमा व्यस्त रहेका सौगातले ‘विनोद’भन्दा अघि ‘बलिदान’ र ‘कल्ली’को छायांकन सकाउनेछन् ।
प्रतिक्रिया