‘ज्वाइँ साब’का ‘हट केक’ जितु र नीति

असोज २४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ज्वाइँ साब’का प्रमुख कलाकारद्वय जितु नेपाल र नीति शाह दर्शकका लागि ‘हट केक’ हुन् । जितु र नीति यतिबेला फिल्मको पछिल्लो गीत कसम बत्तीकोको कारण थप चर्चामा छन् । 

यो फिल्ममा जितु र नीति अनुबन्धित भएपछि जोडी कस्तो बन्ला भन्ने जिज्ञासा सबैको थियो । अन्तत: फिल्मको पोस्टर, टिजर र गीत ‘कसम बत्ती’को रिलिजले सो जिज्ञासालाई एक हदसम्म मेटाइसकेको छ ।
 
जितु र नीतिको क्यामेष्ट्रीलाई ‘कसम बत्ती’ सार्वजनिक भएपछि सबैले रुचाएका छन्। सामाजिक सञ्जाल टिकटकमा यो गीतको चर्चा अहिले अत्याधिक छ । प्रेमभाव दर्शाउने यो गीतमा अहिले जुनसुकै उमेर समूहका मानिसले टिकटक बनाइरहेका छन् ।

त्यस्तै, यो फिल्मको पोस्टरको पनि चर्चा निकै चुलिएको छ। पोस्टरमा जितुलाई डोलीमा राखेर कलाकारद्वय हिमेश पन्त र बुद्धि तामाङले बोकेको र जितुको अगाडि नीति बेहुलीको रुपमा उभिएकी छिन् । यो पोस्टरले पनि फिल्मको कथावस्तु कस्तो होला भन्ने चासो र कौतुहलता फिल्मकर्मीसँगै दर्शकमा व्याप्त छ । सामान्यतयाः विवाहमा बेहुलीलाई डोलीमा चढाईन्छ । तर यो फिल्मको पोस्टर, टिजर र गीतमा भने बेहुलालाई डोलीमा चढाईएको छ ।
 
निर्देशक वसन्त निरौला नेपाली फिल्ममा देखिइरहने कथाभन्दा ‘ज्वाइँसाब’मा फरक कथा दर्शकले हेर्न पाउने बताउँछन् । विजय बस्याल कार्यकारी निर्माता रहेको यो फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । फिल्मको प्रस्तुतकर्ता राजकुमार पण्डित हुन् । 

फिल्ममा जितु र नीतिसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नविन काफ्ले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको फिल्ममा संजय थापाको एक्सन, श्याम तामाङको छायांकन, सन्देश शाहको सम्पादन छ । रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा यो फिल्म निर्माण भएको हो । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरनेमेन्ट, एफडी कम्पनीले गर्नेछन् ।