असोज ८ गते 'आँखा'को विशेष प्रदर्शन हुँदै

जौन योञ्जनको निर्माण र निर्देशनमा बनेको फिल्म 'आँखा'को विशेष प्रदर्शन गरिने भएको छ । यो फिल्मलाई सामाजिक सञ्जालमा चर्चित 'मुभी लभर्स ग्रुप'ले असोज ८ गते विशेष प्रदर्शन गर्न लागेको हो।

असोज ८ गते मङ्गलवार बेलुकी ५ बजे सुनधारास्थित सिडीसी सिनेमामा प्रदर्शन हुने यो फिल्मले सहरी गरिब र सुकुम्वासीको कथालाई प्रर्दामा प्रस्तुत गर्छ ।   

स्थापनाको दशौँ वार्षिकोत्सवको अवसर पारेर 'मुभी लभर्स कम्युनिटी'ले यो फिल्मको विशेष प्रदर्शन गर्न लागेको हो । मूलधारभन्दा फरक चलचित्रलाई आम दर्शकसामु पुर्‍याउन र त्यसमा बहस गर्न विशेष प्रदर्शन गर्न थालिएको कम्युनिटीले जनाएको छ । "राम्रा नेपाली फिल्मलाई माया गरौँ भन्ने हाम्रो आवाजलाई थप बल दिन यो स्क्रिनिङ गर्न लागेका हौँ," कम्युनिटीले आफ्नो पोस्टमा भनेको छ, "हाम्रो दशौँ वार्षिकोत्सवलाई 'आँखा'सँगै मिलेर मनाउँदै छौँ । हाम्रा लागि यो ठूलो सफलता र गौरवको कुरा हो ।"

यो फिल्मका निर्देशक योन्जनका अनुसार,'यो फिल्म आधुनिक समाजमा तल्लो वर्गको दुःख र बाँच्नका लागि मानिसहरूले गर्ने सङ्घर्षको मार्मिक दृष्टिकोण हो ।' दुःख पनि एक्लोपन जत्तिकै भयानक र त्रासद हुन्छ भनेर दर्साउन 'आँखा'को रमाइलो कथा तयार गरिएको उनी बताउँछन् ।

यो फिल्ममा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, निशा अधिकारीलगायत कलाकारहरुको मुख्य भूमिका छ ।