छक्का पञ्जा–५ र कमेडी च्याम्पियनको ‘द बिगेष्ट रोस्टिङ ब्याटल’ हुँदै

यही असोज २४ गतेदेखि प्रदर्शन हुने बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा–५’ले प्रचार प्रसारलाई तिव्रता दिएको छ । यसैक्रममा यो फिल्मको निर्माण टिम र कमेडी च्याम्पियनको टिमबिचमा रोस्ट हुने भएको छ ।

यो फिल्मको टिमले यस भन्दा अगाडि पनि थुप्रै नयाँ नयाँ शैलीलाई अपनाउदै आएको थियो। यस पटक पनि रोस्टको शैलीलाई अपनाउदै यी दुई भिन्न ब्राण्डहरु ‘द बिगेष्ट रोष्टिङ ब्याटल’ मा सहभागि हुन लागेका हुन् ।

यो फिल्मको भर्खरै रिलिज भएको दोस्रो 'ब्रेकअप' गीतमा पनि विशेषगरी ढोका दिने केटीलाई मज्जाले गाली गर्दै रोस्ट गरिएको छ । शायद त्यो शैलीलाई अपनाउदै निर्माण टिमले रोस्ट शैलीलाई अपनाउन लागेको हो ।   

यही असोज २० गते आइतवार जमलस्थित राष्ट्रिय नाचघरमा साँझ ५ बजेपछि प्रारम्भ हुने यो कार्यक्रम हिमालय टेलिभिजन तथा ओएसआर रियालटी यूट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ ।  
 
फिल्मको टिम र कमेडी च्याम्पियन टिम बिचको यो ब्याटल झण्डै साढे तीन घण्टासम्म चल्नेछ ।