‘बेहुली फ्रम मेघौली’को ट्रेलरमा विवाहको कथा

यही असोज १७ गते अर्थात दशैंको घटस्थापनामा प्रदर्शन हुने फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । 

सोसल ड्रामा जनरामा निर्माण गरिएको यो फिल्मको ट्रेलरले विवाहको कथा पेश गर्छ । ट्रेलरमा छोरीको विवाहका लागि एउटा परिवारले केटा खोज्न गरेको संघर्षलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । हुर्किएकी छोरीको विवाह भ्रामरी दशाको कारण ३० वर्षको उमेरभित्रै गर्नुपर्ने दबाबबीच योग्य वर पाउन परिवार र युवतीले गर्नुपर्ने संघर्षलाई ट्रेलरमा देखाइेको छ ।   

साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्ममा निश्चल र स्वस्तिमासहित विजय बराल, सिरु बिष्ट, सिम्रन खड्का, आमिर गौतम, बसुन्धरा भुषाल, लोकेन्द्र लेखक, रक्षा थापा, शिशिर सिवाकोटी, टीका पहारी, लुनिभा तुलाधर लगायतको अभिनय छ । 

स्वस्तिमा र निश्चल दम्पतीको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्माता भने फिरोज खड्का र शंकर पाण्डे हुन् ।

नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत रहेको फील्ममा निमेष श्रेष्ठको सम्पादन छ । यो फिल्मको यसअघि तीनवटा गीत सार्वजनिक भइसकेका छन् ।