‘छक्कापञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप सङ’ रिलिज

दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप सङ’ रिलिज गरिएको छ । बुधवार सार्वजनिक गरिएको यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी, मेक्सम गौडेल लगायत फिचर्ड छन् । 

बाबुल गिरीको शब्द, संगीत, एरेन्जमा तयार भएको यो गीतमा बाबुलकै स्वर समावेश गरिएको छ। चरित्र चित्रणदेखि पात्रको गेटअप प्रस्तुत गरिएको यो गीतमा सुरवीर पण्डित र रामेश्वर केसी पनि प्रस्तुत छन् । यो गीतको भिडियोमा दीपक र माग्ने बूढा ब्रेकअप अंकित सुटमा देखिएका छन् । 

दशैंको फूलपाती अर्थात असोज २४ गते प्रदर्शन हुने यो फिल्मको गीतले ब्रेकअपपछि प्रेमीले प्रेमिकाप्रति पोखेको आक्रोश देखाइेको छ । यो फिल्ममा हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको छ। 

फिल्ममा दीपकराज गिरिको पटकथा लेखन छ भने कथा र संवादमा केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ ।‘छक्का पञ्जा’को अघिल्ला चार सिरिज ब्लकबस्टर भएको थिए ।

यो फिल्ममा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरी लगायतका कलाकारहरुको अभिनय छ । यो मितिमा यो फिल्मसङै दुई नेपाली फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ पनि प्रदर्शनमा आउँदैछ।