काठमाडौ आइपुगे उत्तम र निरुताको जोडी

कुनैबेला नेपाली फिल्म क्षेत्रमा सर्वाधिक रुचाइएको हिट जोडी उत्तम प्रधान र निरुता सिंह काठमाडौं आइपुगेका छन् । 

करिब १२ वर्षको अन्तरालपछि यो जोडीले म्युजिक भिडियो मार्फत पुन: सहकार्य गर्न लागेका हुन् । उत्तम र निरुता भिडियोमा काम गर्नका लागि मंगलबार काठमाडौं आएका हुन् । दर्शकले धेरै लामोसमयपछि जोडीलाई अब भिडियो मार्फत एकसाथ हेर्न पाउने छन्। 

‘यो जुनी यस्तै भो’बोलको यो गीतमा बबी सुब्बा लिम्बूको शब्द रचना, हरि लम्सालको संगीत, उदयराज पौडेलको संगीत संयोजन र केशव भावुकको स्वर समावेश छ । यो गीतको छायांकनका लागि नेपाल आएका उत्तम तीन दिन नेपालमा रहने जनाइएको छ । 

६ वर्षपछि नेपाल आएका उत्तम अतिबेला आफ्नो फिचर फिल्मको तयारीमा व्यस्त छन् । उत्तमको फिल्ममा उनीसहित निरुता सिंह, दिलीप रायमाझी, सुनिल थापा लगायतको अभिनय रहने बताइेको छ । फिल्ममा उत्तमको आफ्नै पटकथा र निर्देशन रहनेछ । उत्तमको पछिल्लो फिल्म ‘इशारा’ हो, जुन २०१२ मा प्रदर्शन भएको थियो ।

त्यस्तै, निरुताको कुरा गर्नुपर्दा उनी गत वर्ष वैवाहिक जीवनमा बाँधिएकी हुन् । उनको पछिल्लो फिल्म 'दाल भात तरकारी' हो । त्यसपछि निरुताले कुनैपनी फिल्ममा काम गरेकी छैनन् ।