'खुस्मा' प्रिमिय्रमा धिरज र उपासनाको तारिफ

भोली बिहीबारबाट प्रदर्शनमा आउने फिल्म 'खुस्मा'को मंगलबार साँझ कमलपोखरीस्थित बिग मूभिजमा प्रिमियर शोको आयोजना गरिएको छ । 

यो फिल्मको प्रिमियर शोमा राजनितीज्ञ, फिल्मकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछनाने, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई, लेखक प्रदीप भारद्धाज, निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेताद्धय सलिनमान बनियाँ र आर्शिवाद क्षेत्री, अभिनेत्री गौमाया गुरुङ, पशुपति राई, लुनिभा तुलाधर तथा रुकुमका स्थानिय बासिन्दा लगायतको बाक्लो उपस्थिति थियो। 

यो फिल्म हेरेका सबैले उत्कृष्ट बनेको भन्दै निर्देशक अशोक थापा मगरको निर्देशकिय पक्ष तथा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको तारिफ गरेका थिए । प्रिमियर शोमा फिल्म हेरेका अधिकांशले फिल्मको कथालाई माओवादी द्धन्द्वको असर भोग्ने सवैले आफैलाई परेको महसुस गर्ने अनुभव सुनाए । 

कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राईले खुस्मा हेरिरहँदा केही ठाउँमा आफु निकै इमोस्नल समेत भएको बताइन् । उनले धिरजसँगै उपासनाको अभिनयको पनि तारिफ गरिन् । 

प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले खुस्मा फिल्म जस्तो नभई एउटा दस्तावेज जस्तो भएको बताए। निर्देशक निश्चल बस्नेतले पनि फिल्म निकै राम्रो बनेको र उपसनाको काम अत्यन्तै राम्रो रहेको बताए। 

सशस्त्र द्धन्द्वकालको कथामा निर्माण भएको यो फिल्म एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो।  फिल्ममा लेखन तथा निर्देशन अशोक थापा मगरकै रहेको छ। 

विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर निर्माता रहेको यो फिल्मको सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । दिपक बज्राचार्यको छायांकन रहेको यो फिल्मको गीत 'रुकुमै कोट' सर्वाधिक हिट छ। 

फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ । 

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । फिल्मलाई वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्नेछ ।