‘कल्ली’मा सौगातको इन्ट्री, पल आउट भएका हुन् ?

किरण नेपालीको प्रस्तुतिमा निर्माण हुने फिल्म ‘कल्ली’मा नायक सौगात मल्लको इन्ट्री भएको छ। यो फिल्मका लागि निर्माणपक्षले यसअगाडि नायक पल शाहलाई अनुबन्धित गरेको थियो । तर, अब पलको ठाउमा सौगात अनुबन्धित भएका छन् ।

बुझिएअनुसार, नायक पल शाह अभिनित फिल्म 'रावायण'को गतल प्रचार र खुम्चिएको व्यापारका कारण 'कल्ली' बाट आउट भएका हुन् ।   

निर्देशक लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहने यो फिल्मको लागि निर्माणपक्षले सौगात सँग लिखित सम्झौता गरिसकेको छ । यो फिल्म यही वर्षको चैते २९ गते रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । 

रेड बर्ड प्रोडक्शन र कस्तूरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । यो फिल्मको निर्माण प्रमुख सुरज आचार्य हुन् । फिल्म ‘बुलाकी’ निर्देशन गरेपछि चर्चामा रहेका निर्देशक लक्ष्मणले यो फिल्ममा केही फरक गर्ने बताए ।

तिहारपछि छायांकन सुरु गरिने फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए ।