‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो मर्मस्पर्शी गीत ‘काँधेकुरी’

सरोज पौडेलको कथा तथा निर्देशनमा निर्माण भएको फिल्म‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार निर्माणपक्षले यो फिल्मको ‘काँधेकुरी’ बोलको गीत सार्वजनिक गरेको हो ।

प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको यो गीतको शब्दहरुले मन छुन्छ । छोरोको प्रगतिमा बाबुको दु:ख,पिडा र बिछोडको दृश्य भिडियोमा प्रस्तुत छ । छोरालाई पढ्न सहर पठाउँदाको वियोग विजय बरालको मुहारमा झल्किन्छ ।

त्यसपछि विजय पैसाका लागि घरघरमा सारङ्गी रेट्दै गाउँदै हिड्छन्न। गरिबको घरमा जन्मिएपछि पाउने दुःखको सेरोफेरोमा गीत केन्द्रित छ । बाउबाजेको पालादेखि नै माग्दै हिँड्नु परे पनि छोराले अब मागेर हिँड्नु नपरोस् भन्ने गीतले छोराको प्रगतिका लागि बुवाले गरेको दुःख र अपेक्षा प्रस्तुत गरेको छ । प्रकाशले गाउँ छोडेर सहर गएको, पढेको, गाउँ फर्किएर सारङ्गी बजाउन सिकेको दृश्य भिडियोमा छ ।

आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शन हुने यो फिल्ममा विजय बराल र प्रकाश सपूत सँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता, महेश दवाडीको पटकथा तथा संवाद छ । सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथा बोल्छ। यो फिल्मको कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

यो फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।