विकाश र श्रृष्टिको ‘अनौठो तिर्सना’ अमेजन प्राइम भिडियोमा रिलिज हुने

मोडल विकाश लामिछाने, श्रृष्टि खड्का, विजय बराल लगायतका कलाकारको अभिनय रहेको फिचर फिल्म ‘अनौठो तिर्सना’ ओटिटी प्ल्याटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ । अमेजन प्राइम भिडियोमा रिलिज हुने यो नै पहिलो नेपाली फिल्म हो ।

यसअघि नेपाली भाषाको बलिउड अभिनेत्री प्रियंका चोपडाद्धारा निर्मितफिल्म ‘पाहुना:द लिटर भिजिटर्स’ नेटफ्लिक्समा रिलिज भएको थियो । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत पुगेको यो फिल्मको निर्माण भने सिक्किममा भएको हो ।

स्टोर्मक्रो प्रोडक्सन र स्टोर्मक्रो फ्रेमवर्कको संयुक्त ब्यानरमा निर्माण भएको यो फिल्मको कथा बाबुराम निरौलले लेखेका हुन् । आउँदो अक्टोबर ८ तारिखमा अमेजन प्राइममा अमेरिका, बेलायत र जर्मनीको टेरिटोरी भित्र रिलिज हुने फिल्मलाई नेपालको हलमा समेत रिलिज गरिनेछ। 

फरक फरक परिवारको कथामा निर्माण गरिएको यो फिल्मको डेढ वर्षअघि छायांकन गरिएको हो । नेपालमै नेपाली भाषामा निर्माण भएको यो फिल्मका फरक फरक कथालाई अन्तिममा एकै ठाउँमा जोड्ने प्रयास गरेको निर्माणपक्षले जनाएको हो।  

निराजन प्रधान निर्देशित यो फिल्ममा विजय बराल, विकाश लामिछाने, सृस्‍टि खड्का, नवीन न्यौपाने, महेश त्रिपाठी, एलिशा शर्मा लगायत कलाकारको अभिनय रहेको छ । 

यस अगाडि थुप्रै म्युजिक भिडियोमा सहकार्य गरेका मोडलद्वय विकाश लामिछाने र श्रृष्टि खड्का यो फिल्मलाई लिएर उत्साहित छन् । म्युजिक भिडियोको आफुहरुको जोडी फिल्मा मार्फत पुन: एकसाथ काम गर्न पाउदा निकै खुशी रहेको बताउछन् ।