पारस र सिम्रनको शट सँगै 'होस्टेल ३'को सुटिङ सुरु

सशान कँडेलले निर्देशन गर्ने फिल्म 'होस्टेल ३'को छायांकन सुरु गरिएको छ। आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै छायांकन सुरु गरेको हो। 

यो फिल्मको पहिलो मुहूर्त शटमा प्रमुख कलाकार पारस बम र सिम्रन पन्तले मुहूर्त शट दिएका हुन् । काठमाडौंको बोडेबाट छायांकन सुरु गरिएको यो फिल्मको पहिलो चरणको छायाङ्कन २५ दिनसम्म चल्ने र तिहारपछि अर्को चरणको छायांकन सुरु गरिने निर्देशक कँडेलले बताए ।

यो फिल्ममा 'कुल ब्वाय' अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायतका कलाकारहरूको अभिनय रहनेछ । फिल्ममा अभिनेता आर्यन सिग्देलले वार्डेनको भूमिका निभाउनेछन् भने अभिनेत्री परीक्षा लिम्बुले विशेष भूमिका निभाउनेछिन्। 

यो फिल्मको आइतबार सम्पन्न मुहूर्त कार्यक्रममा आर्यन सिग्देल र परीक्षा लिम्बु बाहेक अन्य सबै कलाकारहरूको उपस्थिति रहेको थियो।

आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने यो फिल्मको जापान, मध्यपूर्व, र मलेसियाका लागि वितरण अधिकार पहिले नै बिक्री भइसकेको छ। यो फिल्मको स्क्रिप्ट माधव शर्माले लेखेका हुन् भने कथा निर्देशक सशान कँडेलकै हो।

सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्ने यो फिल्ममा अर्जुन तिवारी डिओपि, सिनेमाटोग्राफर बुद्ध थापा र मनोज खत्री हुन्। मुख्य सहायक निर्देशक सुदिप कुँवर छन्। कार्यकारी निर्माता शङ्कर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सह-निर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल, र अर्जुन सापकोटा रहेका छन् भने लाइन प्रोड्युसर भेषराज गौतम हुन्।

'होस्टेल' शृङ्खलाले नयाँ कलाकारहरूलाई नेपाली फिल्म उद्योगमा स्थापित गराउँदै आएको 'होस्टेल' 'होस्टेल रिटर्न्स' दुवै फिल्मले घरेलु बक्स अफिसमा सफलता हासिल गरेका थिए।