‘खुस्मा’को प्रचारमा धिरजको दौडधुप

आगामी असोज ३ गते अर्थात संविधान दिवसको अवसर पारेर प्रदर्शन हुने फिल्म ‘खुस्मा’का मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरी प्रचारको दौडधुपमा व्यस्त छन् । 

फिल्मका मुख्य कलाकार धिरज मगर नेपाल मगर साँस्कृतिक संघ विशेष उपत्यका समितिले आयोजना गरेको खुल्ला मौलिक कौराह (कानराहा) नृत्य प्रतियोगिता कार्यक्रममा पुगेका थिए ।

पूर्व उपराष्ट्रपति नन्द किशोर पुनको उपस्थितमा आयोजना भएको कार्यक्रममा बोल्दै धिरजले जनयुद्धको परिवेशमा मगर संस्कार र संस्कृति समेटेर निर्माण गरिएको आफ्नो फिल्म हेर्न निम्तो दिए । यस्तै, आफ्नो अघिल्लो फिल्मलाई झै यो फिल्मलाई पनि माया, साथ र सहयोग गरिदिन आग्रह गरे ।

कार्यक्रममा धिरले ‘रुकुम मैकोट’ गीतमा नृत्य समेत गरेका थिए । पूर्व उपराष्ट्रपति नन्द किशोर पुनले धिरजलाई कार्यक्रममा मगर साँस्कृतिक संघको लोगो अंकित पगरी लगाइदिँदै सफलताको शुभकामना दिए । 

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्ममा लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री फिल्म लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय फिल्म हो ।

विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर निर्माता रहेको फिल्मको सह-निर्माता सुस्मिता बुढाथोकी हुन् ।  दिपक बज्राचार्यको छायांकन, एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । 

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित यो फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमको कथा भन्छ।

फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ । यो फिल्मलाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्नेछ ।