मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ले अस्करमा नेपालको प्रतिनिधित्व गर्ने पक्का

मीनबहादुर भामको निर्देशनमा बनेको फिल्म ‘शाम्बाला’ले आगामी ९७औं अकादमी अवार्ड (अस्कर) मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने निश्चित भएको छ। अस्करको नेपाल छनोट समितिले बिहीबार आवेदन दिने अन्तिम दिनसम्म मात्र ‘शाम्बाला’को आवेदन आएको जानकारी दिएको छ। अब यो फिल्म निर्विरोध सिफारिस हुनेछ। 

समितिका अध्यक्ष तथा चलचित्र विकास बोर्डका सदस्य राजु केसीले भने, “एक मात्र आवेदन परेकाले ‘शाम्बाला’ निर्विरोध सिफारिस हुनेछ।” अस्करका लागि सिफारिस भएलगत्तै, नोभेम्बरभित्र यो फिल्मलाई अमेरिका पठाइसक्नुपर्नेछ। ९७औं एकेडेमी  अवार्ड ३ मार्च २०२५ मा लस-एन्जलस, अमेरिका मा आयोजना हुँदैछ। 

‘शाम्बाला’को नेपाल प्रदर्शन थालनी

शुक्रबारदेखि ‘शाम्बाला’ नेपालभर प्रदर्शनमा आएको छ। काठमाडौं उपत्यकाका ९ हल र उपत्यकाबाहिरका ३९ हलमा फिल्म प्रदर्शन भइरहेको छ। पहिलो दिन मुख्य मल्टिप्लेक्स हलहरूमा राम्रै अकुपेन्सी रहेको रिपोर्ट गरिएको छ। अपरान्ह र बेलुकीको शोमा अकुपेन्सी बढ्ने अनुमान गरिएको छ। 

विशेष गरी वान सिनेमा वानेश्वर ,क्यूएफएक्स छाया सेन्टर र लाबिम हलमा दर्शकको उपस्थिति उल्लेखनीय रहेको छ भने चावहिलको केएल टावरस्थित एफक्युब सिनेमाजमा पनि राम्रो दर्शकसंख्या देखिएको छ। तर, अन्य नेपाली फिल्महरूको अकुपेन्सी राम्रो हुने हलमा भने ‘शाम्बाला’ले दर्शक तान्न सकिरहेको छैन।

पोखरा र चितवनका हलमा अकुपेन्सी औसत ३० प्रतिशत रहेको छ। त्यहाँ पनि अपरान्ह र बेलुकीका शोहरूमा दर्शक संख्यामा वृद्धि हुने अनुमान गरिएको छ। 

‘अस्कर इफेक्ट’को फाइदा?

अस्करमा सिफारिस हुने खबरले ‘शाम्बाला’ले थप दर्शक तान्न सक्ने अनुमान गरिएको छ। विगतमा केही फिल्महरू अस्कर सिफारिस भएपछि पुनः प्रदर्शन हुँदा थप दर्शकको समर्थन पाएको इतिहास छ। ‘अस्कर इफेक्ट’को कारणले ‘शाम्बाला’लाई पनि यस्तो फाइदा पुग्न सक्ने अनुमान छ।

यसैबीच, भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यपको नेपाल भ्रमणले पनि फिल्मलाई थप प्रवर्द्धनमा मद्दत पुगेको छ। 

अन्य प्रदर्शनमा रहेका फिल्महरू

शुक्रबारदेखि क्यूएफएक्स बाहेकका हलहरूमा शाहरुख खान, प्रीति जिन्टा र रानी मुखर्जी स्टारर बलिउड फिल्म ‘वीरजारा’को पुनः प्रदर्शन सुरु भएको छ। यो फिल्म २० वर्षपछि फेरि हलमा रिलिज भएको हो। 

साथै, जापानी एनिमेटेड फिल्म ‘डिटेक्टिभ कोनान: द मिलियन डलर पेन्टाग्राम’ पनि प्रदर्शनमा आएको छ। केस क्लोज्ड फिल्म श्रृंखलाको यो २० औं संस्करण हो, जसलाई हिगा नाकाओगाले निर्देशन गरेका हुन्। 

अब ‘शाम्बाला’ले नेपालको तर्फबाट अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा प्रतिस्पर्धा गर्ने छ। फिल्मको प्रदर्शन र ‘अस्कर इफेक्ट’ले यसलाई थप फाइदा पुर्‍याउने आशा गरिएको छ।