सलोनको ‘रंगी’मा ‘मिस वल्र्ड नेपाल’ नम्रता श्रेष्ठ अनुबन्धित

सुरेश न्यौपानेले निर्देशन गर्ने फिल्म ‘रंगी’ मा ‘मिस वल्र्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ अनुबन्धित भएकी छन् । सलोन बस्नेत प्रस्तुतकर्ता रहने यो फिल्मबाट नम्रताले नेपाली फिल्मक्षेत्रमा डेब्यु गर्न लागेकी हुन् । 

सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने यो फिल्मका लागि नम्रता हालै अनुबन्धित भएकी हुन् । निर्देशनमा सुरेशको यो डेब्यु फिल्म हो । यसअगाडि उनले ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशको भूमिका निभाइसकेका छन् । 

 त्यस्तै,नम्रताले फिल्मको स्क्रिप्ट अनुसार आफ्नो क्यारेक्टर मन परेकाले काम गर्न सहमत भएको जनाउदै भनिन्,‘मैले रंगीको स्क्रिप्ट पढ्दा स्कुल पढाउँदाको समय सम्झिएँ । यसमा मेरो क्यारेक्टर पनि रमाइलो खालको छ, म युवावस्थाको छु, तर मेरो नेचर बच्चाको जस्तो छ । ऊ बच्चाको लागि एउटा आमा जस्तो भूमिका गर्नु पर्ने भएकाले पनि काम गर्न मन लाग्यो’, उनले भनिन् ।

सक्षम सुवेदीको निर्माण रहने यो फिल्मको यसअघि निर्माण पक्षले टाइटल पोस्टर सार्वजनिक गरेको थियो । बाबु छोरीको कथामा निर्माण हुने यो फिल्ममा सुमन गजमेरको लेखन र सौरभ लामाको छायांकन रहनेछ ।