नेपाली फिल्मको प्रवर्द्धनमा कलकारको भुमिका कमजोर

नेपाल चलचित्र कलाकार संघको ३६औँ स्थापना दिवसको अवसरमा नेपाली फिल्मको प्रवर्द्धनमा कलकारको भुमिका विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । संघले बुधवार चलचित्र विकास बोर्डमा सो कार्यक्रम आयोजना गरेको हो । 

नेपाली फिल्मका कलाकारहरुले फिल्मको प्रवर्द्धनमा सहयोग नगरेको गुनासो चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काको थियो । पछिल्लो समय कलाकारहरुले आफैले स्टार स्वोघोषणा गर्ने र त्यहि अनुसारको पारश्रमिक लिएर फिल्म रिलिजको समय प्रवर्द्धन र प्रचार प्रसारमा सहयोग नगरेको खड्काले बताए ।

कार्यक्रमको प्रमूख वक्ता रहेका बरिष्ठ फिल्मकर्मी निर शाहले सैद्धान्तिक र दार्शनिक दृष्टिकोणमा आधारित धारणा राखेका थिए । 'अहिले कलाकारको विषयमा जति गुनासो आयो । त्यसको मुख्य कारण हामीले प्रतिपादन गरेका सैद्धान्तिक र दार्शनिक धरातलले मेल नखानुको कारणले उत्पन्न भएको हो । अहिले छलफलका विषय पनि सैद्धान्तिक र दर्शनिक हुन् भन्ने मैले अनुभव गरेको छु । सबैभन्दा हामीले कलाकार भनेको के हो भन्ने बुझ्नुपर्छ । हामी के प्रभावमा परेका छौ, त्यो बुझेपछि मात्र प्रभावबाट मुक्त हुनसक्छौँ।' निर शाहले भने ।

अहिलेका कलाकारले आफूले अभिनय गरेको फिल्म प्रवर्द्धनमा समेत ध्यान दिन छोडेको संघसंस्थाका प्रतिनिधिहरुको आरोप छ। विशेष गरेर पछिल्लो समय भित्रिएका कलाकारमा यस्तो प्रवृत्ति हाबी रहेको उनीहरूको भनाई थियो । कार्यक्रममा अहिलेका कलाकारले संघसंस्थाको महत्त्व समेत नबुझेको चर्चा भयो ।

कलाकार संघका बरिष्ठ उपाध्यक्ष शिवहरी बैरागीको सन्योजकत्वमा आयोजित कार्यक्रममा बरिष्ठ कलाकार बसुन्धरा भुषालले कलाकारिता क्षेत्रलाई कलाकार संघले संगठित गर्दै आएको बताईन् । फिल्म क्षेत्रलाई विकास बोर्डले सहकार्य गर्नुपर्ने उनको भनाई थियो।

त्यस्तै, कार्यक्रमका अध्यक्ष मोहन निरौलाले संघको इतिहासदेखि वर्तमानसम्मको अवस्था, समस्या र गतिविधिहरुको वारेमा चर्चा गरेका थिए । कलाकारहरुको क्षमता विकास, स्वास्थ्य अवस्था र पेशाकर्मीको सुरक्षा र अधिकारको लागि संघ लाग्दै आएको उनले बताए । 

बोर्डका नव नियुक्त अध्यक्ष दिनेश डिसीले आफु भर्खरै बोर्डमा आएकोले योजनाहरु बनाउने क्रममा रहेको बताए । उनले छिट्टै चलचित्र विधेयक र चलचित्र नीति पास गर्ने गरि प्रक्रिया शुरु गरेको पनि बताए । बहुबर्षिय योजनामा बनेपा फिल्म स्टुडियो निर्माण गर्ने भनिएता पनि आफ्नै कार्यकाल भित्र निर्माण सकिने गरि काम शुरु गर्न लागेको पनि अध्यक्ष डिसीले बताए ।