'होस्टेल ३'मा आर्यन र परीक्षाको इन्ट्री

सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्न लागेको फिल्म 'होस्टेल ३'मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री परीक्षा लिम्बु अनुबन्धित भएका छन्।

बुधवार निर्माण पक्ष, अभिनेता सिग्देल र लिम्बु सँग सम्झौता गरेको हो। आर्यन सिग्देल यो फिल्ममा महत्त्वपूर्ण 'वार्डेन'को भूमिकामा देखिनेछन् । त्यस्तै, फिल्ममा परीक्षालाई विशेष भूमिकामा अनुबन्धित गराएको निर्माणपक्षले जनाएको छ । यसअघि, आर्यन र परीक्षाले 'पुजार सार्की'मा एकसाथ काम गरिसकेका छन् ।

सशान कँडेलले निर्देशन गर्ने यो फिल्मको यही साताबाट छायांकन सुरु गर्ने निर्माणपक्षले जनाएको छ । फिल्मको बुधवार नै जापान, मध्यपूर्व र मलेसियाका लागि फिल्मको वितरण अधिकार बिक्री भइसकेको छ। जापानका लागि यूएनए इन्टरटेन्मेन्टका उज्ज्वल गुरागाईँले वितरण अधिकार लिएका छन् भने मध्यपूर्व र मलेसियाका लागि आशिष पुरुषले वितरण अधिकार लिएका छन्।

नयाँ स्टारहरू जन्माउने फिल्मको रूपमा चिनिदै आएको पहिलो फिल्म 'होस्टेल' बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठले डेब्यु गरेका थिए ।  'होस्टेल रिटर्न्स'बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला जस्ता कलाकारले डेब्यु गर्दै नेपाली फिल्ममा सफलता हासिल गरेका थिए। 

माधव शर्माको स्क्रिप्ट रहेको यो फिल्मको कथा निर्देशक कँडेलकै हो। फिल्ममा कार्यकारी निर्माता शङ्कर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सह-निर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन् भने लाइन प्रोड्युसर भेषराज गौतम हुन्।

फिल्ममा आर्यन र परीक्षासँगै 'कुल ब्वाय' अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ लगायतका कलाकारहरूको भूमिका रहनेछ। 

यो फिल्म आगामी फागुन १६ गतेबाट विश्वभर एकसाथ रिलिज हुने निर्माणपक्षले घोषणा गरिसकेको छ ।