‘खुस्मा’को ट्रेलर रिलिजमा किन भक्कानिए धिरज ?

नायक धिरज मगर मंगलबार आयोजना भएको फिल्म ‘खुस्मा’को ट्रेलर रिलिज कार्यक्रममा भक्कानिए । बोल्दा बोल्दै उनको आँखाबाट आँसु खस्यो । यसपछि, उनी केही समय बोल्न सकेनन् । 

मंगलबार धिरजको जन्मदिन समेत हो । जन्मदिन पनि रहेकाले धिरज अझै बढी भावुक बने । रुकुममा जन्मिएका धिरज दुई बर्षको उमेरमा परिवारसहित युके पुगेका  थिए । फिल्म ‘खुस्मा’को छायांकन रुकुम मैकोटमा भएकाले धिरज आफू जन्मिएको ठाउँमा फर्किए । आफूलाई स्थानीय बासिन्दाले निकै प्रेम दिएको भन्दै धिरज भक्कानिएका हुन् । 

उनले भने–‘जन्मदिनमा मलाई खुस्मा फिल्म उपहार दिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु । यो फिल्मले गर्दा म आफ्नो गाउँ फर्किन पाएँ । दुई बर्षको हुँदा म युके गएको हुँ । जब म रुकुमको टक्सेरा गाउँ गए, मलाई त्यहाँ माया गर्ने बाजे, मामा–माइजु, काका–काकीलाई भेट्न पाएँ । म युकेबाट आफ्नो गाउँलाई चिनाउन चाहन्छु । म केही हदसम्म यो कुरामा सफल भए कि भन्ने लाग्छ ।’

धिरजले आफ्नो परिवारलाई सम्झिए । आफ्नो पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’की निर्देशक रेनशा वान्तवा राई र निर्माता प्रज्ज्वल शमशेर जबरालाई पनि सम्झिए । 

धिरजको जन्मदिनको अवसर पारेर निर्माणपक्षले केक समेत काटेर सेलिव्रेशन गरेको थियो । असोजको ३ गतेबाट यो फिल्म देशभरका हलमा रिलिजमा आउँदैछ ।