‘रावायण’को पुनः सेन्सर, अब १६ बर्ष मुनीका दर्शकले पनि हेर्न सक्ने

‘एडल्ट’ सर्टिफिकेट पाएपछि केही समस्यामा परेको फिल्म ‘रावायण’को टिमले फिल्मको पुनः सेन्सर गरेको छ ।  आज चलचित्र सेन्सर पास समितिले पुनः सेन्सर गर्दै फिल्मलाई ‘पिजी’ सर्टिफिकेट दिएको छ । 

योसँगै अब  फिल्मलाई १६ बर्ष उमेर मुनिका बालबालिकाले पनि हेर्न पाउने भएका छन् । तर, उनीहरुले फिल्म हेर्नका लागि बाबुआमाको साथमा जानुपर्नेछ  । 

यसअघि फिल्मले ‘एडल्ट सर्टिफिकेट’ पाउँदा १६ बर्ष मुनिका दर्शकले हेर्न पाएका थिएनन् । जसकाकारण, थुप्रै दर्शक हलबाट फर्काइएका थिए । 
फिल्मको टिमले पनि फिल्मले ‘एडल्ट’ सर्टिफिकेट पाउँदा दर्शक हलबाट फर्किन वाध्य भएको जनाएको थियो । 

फिल्मका केही दृश्य ब्लर गर्ने र केही संवादमा म्यूट गर्ने निर्देशनसहित सेन्सर बोर्डले फिल्मलाई ‘पिजी’ सर्टिफिकेट दिएको हो । 

नायिका पूजा शर्माको लगानीमा सुदर्शन थापाको निर्देशन रहेको यो फिल्ममा पल शाह,  पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, प्रकाश शाह लगायतका कलाकारहरूको अभिनय छ ।

फिल्मले दर्शकबाट सुखद प्रतिक्रिया पाइरहेको छ ।  शुक्रबार  र शनिबार  फिल्मले दर्शकको राम्रो साथ पाएको थियो ।