‘नरसिंहाः अवतार’मा हमालसँग पर्दा शेयर गर्न लागेका रमेश को हुन् ?

नायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ छायांकन अगावै चर्चामा छ । यो फिल्ममा कलाकारहरुको लाइनअप पनि बलियो बनेको छ । 

यही फिल्ममा एक जना कलाकारको अभिनय रहनेछ, जसको नाम हो रमेश चन्द सोडारी । 

उसो त रमेशले काम गर्न लागेको यो पहिलो फिल्म भने होइन । तर, यो फिल्ममा उनले आफ्नो वास्तविक अभिनय क्षमता देखाउन पाउनेछन् भन्ने विश्वास निर्देेशक दिवाकर भट्टराइको छ । सोडारीले फिल्म ‘मन त परदेशी’मा अभिनय गरिसकेका छन् । उनले फिल्म ‘साङ्लो र वानर सेना’मा पनि काम गरिसकेका छन् । 

सोडारीका लागि अब फिल्म ‘नरसिंहाः अवतार’ विशेष बन्ने अपेक्षा छ । करिब ८ दर्जन म्युजिक भिडियोमा समेत काम गरिसकेका यी कलाकारले एक दशक लामो समयदेखि फिल्म क्षेत्रमा संघर्ष गरिसकेका छन् । 

उनी, जिमनेस्टिक, मार्सल आर्टमा समेत निपूर्ण छन् । यसैले, एक्सनप्रधान फिल्म ‘नरसिंहाः अवतार’मा उनले आफ्नो एक्सनको कला कौशल देखाउन पाउने अपेक्षा गरिएको छ । 

यो फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, रमेश चन्द सोडारी लगायतका कलाकारहरुको अभिनय रहनेछ । 

यो फिल्मबाट फिल्म क्षेत्रमा एक्सन नायकको रुपमा जम्ने अपेक्षा सोडारीको छ । आफूलाई फिट राख्न निकै मिहिनेत गर्ने उनी खानेकुरामा  समेत विशेष ध्यान दिन्छन् । यो फिल्मका लागि आफूले अझै मिहिनेत गरिरहेको सोडारीले जानकारी दिए ।