दीपिका र रणवीर बने अभिभावक

बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंह अभिभावक बनेका छन् । पहिलो सन्तानको रुपमा यो जोडीले पुत्रीलाभ गरेका हुन्।

अभिनेत्रीलाई शनिबार दिउँसो मुम्बईको गिरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । उनीसँगै रणवीर सिंह र उनको परिवार पनि थिए । उक्त अस्पतालमा दीपिकाले छोरीलाई जन्म दिएकी हुन् ।

उनीहरुको घरमा छोरीको आगमनले सम्पूर्ण परिवारमा खुशीको माहोल छाएको छ। दीपिका र रणवीरको छोरीको जन्मसँगै उनीहरुको फ्यान र बलिउडका अन्य सेलेब्रेटीहरुले बधाई तथा शुभकामना दिइरहेका छन्।

दीपिका पादुकोणले २०१८ मा रणवीर सिंहसँग विवाह गरेकी थिइन् । यी दुईको पहिलो भेट फिल्म ‘गोलियों की रासलिलाः रामलीला’ को सेटमा भएको थियो । उनीहरुसँगै काम गर्दागर्दै दुवै प्रेममा परे र ५ वर्षको सम्बन्धपछि दुवैले विवाह गरेका थिए ।

दीपिका र रणवीर ‘गोलियों की रासलीला’, ‘रामलीला’, ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ र ‘८३’ मा सँगै देखिएका छन् । यसबाहेक रणवीरको फिल्म ‘सर्कस’मा दीपिकाले क्यामियो गरेकी थिइन् ।