प्रकाश र स्वस्तिमाले सुरु गरे ‘वसन्त’को छायांकन

निर्देशनमा डेब्यू गर्न लागेका गायक तथा नायक प्रकाश सपुतको नयाँ फिल्म ‘वसन्त’को छायांकन सुरु गरिएको छ ।

फिल्मको छायांकन सपूतको जन्मथलो बागलुङस्थित कालिका मन्दिरबाट शुभ मुहूर्त गर्दै सुरुवात भएको हो । 

मुहूर्त समारोहमा सपूतसहित अभिनेत्री स्वस्तिमा खड्का, अनुप बराल, र अन्य कलाकारहरूले क्यामेरा, स्क्रिप्ट, र क्ल्याप बोर्डको पूजा गर्नुका साथै फिल्मको टिमले शान्ति पदयात्रा पनि आयोजना गरेको थियो ।

करिब २५ दिनसम्म छायांकन गरिने फिल्मको छायांकन आफ्नो जन्मथलो धम्जा गाउँ र बागलुङका विभिन्न स्थानमा हुने र दसैँ र तिहारको बीचमा काठमाडौँ र तराई क्षेत्रमा समेत छायांकन गरिने योजना रहेको सपूतले जानकारी दिए । 

‘परदेशी २’बाट अभिनेता बनेका गायक सपूतलको यस फिल्ममा कथा, संगीत पनि स्वयंले गर्नेछन् । 

यस फिल्ममा सुसन प्रजापतिले छायांकनको जिम्मेवारी लिएका छन्। कलाकारहरूको सूचीमा अनुप बराल, स्वस्तिमा खड्का, कमलमणी नेपाल, प्रकाश घिमिरे, प्रभात पाल ठकुरी, खड्कबहादुर पुन, र शिवांशी श्री रहेका छन्।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने फिल्मको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् ।

फिल्मको कथा जातीय विभेदबीच अन्तरजातीय प्रेम हो । फिल्मको घोषणाको बेला सार्वजनिक गरिएको टिजरले वर्ण व्यवस्था र जात व्यवस्थाले पिल्सिएको कथामा ‘वसन्त’ बन्न लागेको जानकारी गराउँछ ।

प्रकाश टाइटल पात्र वसन्तको भूमिकामा देखिदैछन् भने स्वस्तिमा शान्तिको भूमिकामा देखिने छिन् ।

तीन करोड रुपैयाँको बजेटमा निर्माण हुने ‘वसन्त’ आगामी चैत २२ गते प्रदर्शन हुने तय भएको छ।