२५ दिनमा ‘घर नम्बर २’को इन्डक्ल्याप
फिल्म ‘के घर के डेरा: घर नम्बर २’को छायांकन पुरा भएको छ । निर्माणपक्षले काठमाडौं र ललितपुरमा यो फिल्मलाई २५ दिनसम्म खिचेको थियो ।
प्राविधिक, कलाकारहरूको सहयोगमा फिल्मको छायांकन २५ दिनमा नै प्याकअप भएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।
यो फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरूको अभिनय छ ।
फिल्मले सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा भनेको छ । युवराज कार्की कार्यकारी निर्माता रहेको यो फिल्मलाई माघको ११ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको व्यानरमा निर्माण भएको यो फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । वुद्दि सागरले लेखेको कथालाई कृष्णबहादुर थापाले खिचेका हुन् ।
फिल्मलाई काठमाडौंमा रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।
प्रतिक्रिया