‘साम्बाला’को प्रिमियरमा सहभागी हुन नेपाल आइपुगे नवाजुद्दिन

बलिउडका चर्चित अभिनेता नवाजुद्दिन सिद्दिकी नेपाल आएका छन् । उनी आज दिउँसो त्रिभुवन विमानस्थलबाट नेपाल आइपुगेका हुन् । भीआइपी कक्षबाट बाहिरिएका सिद्दिकीलाई फिल्म ‘साम्बाला’का निर्देशक मिन भावले स्वागत गरेका थिए ।

फिल्म ‘साम्बाला’को प्रिमियरमा सहभागी हुन उनी नेपाल आएका हुन् । भोलि आइतबार काठमाडौंमा आयोजना हुन लागेको प्रिमियरमा नवाजुद्दिन विशेष आकर्षणमा रहनेछन् । 

उनलाई विमानस्थलमा उनका फ्यानहरुले स्वागत गरेका  थिए । नवाजुद्दिनले पनि फ्यानहरुसँग तस्वीर खिचाए । साथै, उनले अटोग्राफ पनि दिएका थिए । 

फिल्म ‘साम्बाला’लाई लिएर नवाजुद्दिन उत्साहित छन् । भदौको २८ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मले विश्वका थुप्रै फिल्म महोत्सवहरुमा सहभागीता जनाइसकेको छ । साथै, प्रतिष्ठित अवार्डहरु पनि जितेको छ ।