छायांकन अगाडि ‘बसन्त’को क्यारेक्टर लुक्स रिलिज

फिल्म निर्देशनमा डेब्यू गर्न लागेका गायक तथा नायक प्रकाश सपुतको फिल्म ‘बसन्त’को पोस्टर सार्वजनिक गरिएको छ । हरितालिका तीजको अवसर पारेर फिल्मको क्यारेक्टर पोस्टर रिलिज गरिएको हो ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा बन्न लागेको यो फिल्मको पोष्टरमा पाँच पात्रको चरित्रलाई प्रस्तुत गरिएको छ । 

विद्यार्थीको पहिरनमा पाँच पात्रलाई देखाइएको छ । उनीहरू, कापी र कलम च्याप्दै विद्यालयतिर दौडिरहेको पोस्टरमा देख्न सकिन्छ । 

पोस्टरमा स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रभातपाल ठकुरी, खड्गबहादुर पुन, शिवांसी श्रीलाई देखाइएको छ । 

उनीहरुको क्यारेक्टर नाम पनि पोष्टरमा उल्लेख गरिएको छ । प्रकाश सपुतको निर्देशन, कथा र संगीत रहने फिल्ममा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् ।

शनिबारदेखि यो फिल्मको छायांकन बाग्लुङबाट सुरु गरिनेछ । यो फिल्मलाई चैत्रको २२ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।