‘प्रविधि पूजा’सँगै ‘बलिदान’को छायांकन प्रारम्भ

फिल्म ‘बलिदान’को छायांकन प्रविधि पूजासँगै सुरु गरिएको छ । हरितालिका तीजको अवसर पारेर मोरङको सुन्दरहरैंचास्थित पाथीभरा माताको मन्दिरमा शुक्रबार पूजा गरिएको हो । शनिबार इटहरीमा फिल्मको पहिलो दृश्यको छायांकन गरिनेछ । जसमा नायिका ऋचा शर्मा र केही बालबालिकाहरूको दृश्य खिचिने निर्माणपक्षले बताएको छ ।

निर्देशक सन्तोष सेनका अनुसार केही दिनपछि फिल्मका नायक समीर भट्ट, कलाकारहरू अर्पण थापा, सौगात मल्ल, दिव्य देव लगायतका कलाकारहरुको छायांकन सुरु गरिनेछ । 

निर्देशक सेनले यो फिल्मका लागि लामो समयदेखि आफूहरूले अथक मिहिनेत गरेको र सोही अनुसार प्रि–प्रोडक्शनमा समय लागेको बताए । उनले, पर्दा पछाडि रहेर स्मार्ट तरिकाले काम गर्ने प्राविधिकहरूको पूजा गर्दै काम सुरु गरिएको बताए । यो फिल्मलाई भारतका चर्चित प्राविधिकहरू, द्धन्द्ध निर्देशक स्टन्डर साम र छायांकार शरण ऋषि लगायत ५० जनाको प्राविधिक टिमले निर्माण गर्नेछ ।

यसका लागि लाइट, साउन्ड, क्यामेराका उपकरणहरू भारतबाट ल्याइएको छ । छायांकनका लगि इटहरीस्थित बीएमसी स्टुडियोमा भव्य सेट पनि तयार गरिएको छ । करिब ६० प्रतिशत छायांकन सेटमै हुनेछ ।

विराटनगरमा पनि सेट निर्माण गरिएको छ । आसुसेन फिल्मस् प्रा.लि र सन्तोष सेनको प्रस्तुति रहेको यो फिल्मका निर्माता पवन ब्राडफोर्ड विस्ट र सह–निर्माता प्रेम पुरी हुन् ।