‘रावायण’को उत्साहजनक ओपनिङले उत्साहित पल र पूजा

आज शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘रावायण’ले उत्साहजनक व्यापार गरेपछि यसका नायक पल शाह र नायिका पूजा शर्मा उत्साहित देखिएका छन् । आज दिनभर काठमाडौंका विभिन्न हलमा पुगेका यी दुई कलाकारहरूले दर्शकको प्रतिक्रिया सुखद पाएपछि खुशी रोक्न सकेनन् । 

काठमाडौंका वीग मुभिज, सिभिल मल, एफक्यूब हल, अष्टनारायण लगायतका हलमा पुग्दा दर्शकको अकुपेन्सी उच्च देखियो । अष्टनारायणको दिउँसो सवा २ बजेको शोमा एक हजार क्षमताको हल भरिएपछि दोस्रो हलमा पनि फिल्म देखाउनु परेको थियो । 

अष्टनारायण हलमा दर्शकमाझ घेरिएका नायक र नायिकाले दर्शकको यही मायाका लागि आफूहरूले काम गर्ने बताए । 

निर्देशक सुदर्शन थापाले टिमको मिहिनेतका कारण आफूहरूले सफलताको पहिलो स्वाद चाखेको भन्दै सबैलाई धन्यवाद दिए । 

फिल्मबाट कलाकार प्रकाश शाहले पनि तारिफ पाइरहेका छन् । उनले पनि दर्शकबाट पाएको प्रतिक्रियाले आफूलाई निकै खुशी मिलेको बताए । 

पूजा शर्माको निर्माणमा तयार भएको यो फिल्मले प्रेमका लागि हुने युद्धको कथा भन्छ । फिल्ममा प्रमोद अग्रहरी, प्रियंका कार्की लगायतका कलाकारहरुको पनि अभिनय छ ।

फिल्मले भोलि शनिबारको बिदामा पनि अझै आक्रामक व्यापार गर्ने अपेक्षा गरिएको छ ।