‘कार्साङ’को फस्टलुक रिलिज, पौष २६ बाट रिलिज हुने

फिल्म ‘कार्साङ’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म पौषको २६ गतेबाट रिलिजमा आउने पक्का भएको हो । माघे सङ्क्रान्तिको छेको पारेर यो फिल्मको निर्माण टिमले प्रदर्शन मिति तय गरेको हो ।

सार्वजनिक पोष्टरमा फिल्मका मुख्य दुई पात्र नायक दयाहाङ राई र कलाकार सिर्जना निङलेखुलाई फिचरिङ गरिएको छ । दयाहाङ सुरुवाल मात्र लगाएर उभिएका छन् । यम शेर्पाको निर्देशनमा तयार भएको फिल्मको हाल सम्पादनको काम चलिरहेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा यो फिल्म खिचिएको हो ।

यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा यो फिल्म निर्माण भएको हो । सामाजिक कथावस्तुमा निर्माण भएको फिल्ममा निर्देशक शेर्पाकै पटकथा तथा संवाद छ ।

फिल्ममा दया र सिर्जनाको साथमा दीया मास्के, जितु नेपाल, वुद्धि तामाङ, प्रेम लोप्चन लगायतका कलाकारहरूको अभिनय छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा गोविन्द बोहरा सह–निर्माता, आङछिरिङ शेर्पा कार्यकारी निर्माता र लाइन प्रोड्युसरको रुपमा वीरेन्द्र शाही छन् ।