‘देवी’मा लगानी गर्न किन तयार भइन् शिल्पा ?
नायिका शिल्पा मास्के भदौको २१ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘देवी’लाई लिएर उत्साहित छिन् । यसैले, फिल्मको प्रचारमा पनि दौडधूप गरिरहेकी छिन् । फिल्मकी सह–निर्मात्री समेत भएकाले उनको दौडधूप अझै तीव्र बनेको हो ।
शिल्पाले यो कथालाई कसैले पनि व्यवसायीक नमानेपछि आफै लगानी गर्न अगाडि आएको बताइन् । थुप्रै निर्मातालाई यो फिल्म निर्माणका लागि प्रस्ताव गरिएको शिल्पाको कथन छ । यो फिल्म व्यवसायीक रुपमा सफल भएको खण्डमा अन्य फिल्ममा पनि लगानी गर्ने योजना शिल्पाको छ ।
शिल्पाले यो फिल्ममा आफूले व्यापारका लागि लगानी नगरेको पनि तर्क गरिन् । उनले, यो समयमा विषयवस्तु केन्द्रित र महिलाको कथालाई रुचाउन थालिएकाले लगानी गरेको बताइन् ।
संजोग राइको निर्देशनमा तयार भएको यो फिल्मले बलात्कारको घटना र त्यसमा कानुनले पार्ने प्रभावको कथालाई उठाएको छ । फिल्ममा बलात्कारको घटनाबारे रिपोर्टिङ गर्ने पत्रकारको भूमिकामा शिल्पाले अभिनय गरेकी छिन् ।
फिल्मले उठाएको विषयवस्तुमा धेरै अनुसन्धान गरिएको उनले बताइन् । अनुसन्धान हरेक कोणबाट गरेपछि मात्र सत्य घटनाबाट प्रभावित काल्पनिक फिल्म निर्माणमा अगाडि बढेको शिल्पाको भनाई छ ।
शिल्पाले अगाडि भनिन्–‘हामीले उठाएको विषयवस्तु दर्शकको ठूलो संख्यासम्म पुगेको खण्डमा यस्ता घटनाहरू निर्मुलीकरणमा सहयोग पुग्नेछ भन्ने विश्वास छ । हामीले यो फिल्मबाट दर्शकलाई कुनै विचार थोपर्ने भन्दा पनि बहसको रुपमा अगाडि बढोस् भन्ने चाहना राखेका छौं ।’
प्रतिक्रिया