भुवन केसीले ल्याएको ‘फिल्म बनाउने योजना’लाई डीसीले गरे खारेज

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डले फिल्म बनाउने योजना अगाडि सारेका थिए । यसका लागि बोर्डले बजेट समेत छुट्टाएको थियो । 

तर, चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले भने निवर्तमान अध्यक्ष केसीको योजनालाई खारेज गरिदिएका छन् । आज पदभार ग्रहण गर्दै उनले बोर्डले फिल्म बनाउने भनेर अगाडि सारेको योजनालाई खारेज गरेको घोषणा गरे ।

उनले भने–‘चलचित्र विकास बोर्डले फिल्म बनाउने होइन । फिल्म बनाउनेहरूलाई सहयोग गर्ने हो । चलचित्र विकास बोर्डले सम्पादन टेबल नै खडा गरेर काम गर्ने होइन । फिल्मको सम्पादन गर्नेहरूलाई सहयोग गर्ने हो ।’

यस्तै, विकास बोर्डले भ्यानेटी भ्यान किन्ने योजना समेत ल्याएको भन्दै यसको अर्थ नभएको अध्यक्ष डीसीको भनाई थियो । 

उनले, विकास बोर्डलाई अब शून्यबाट अगाडि लैजाने भन्दै सबैको सहयोग र साथको अपेक्षा गरे । उनले भने–‘चलचित्र विकास बोर्डमा म प्रवेश गर्दै गर्दा यति धेरै माया र विश्वास प्राप्त भएको छ । म यहाँ पैसा कमाउन आएको होइन । पैसा कमाउनका लागि मलाई बोर्ड भन्दा बाहिर नै ठिक छ । फिल्म क्षेत्रमा रहेर मैले सबै कुरा कमाए । यसैले, यसपटक सोही फिल्म क्षेत्रका लागि काम गर्न आएको हुँ ।’