दिनेश डीसीले गरे पदभार ग्रहण, भने–‘काम गर्न आएको हुँ’

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले आज आफ्नो पदभार ग्रहण गरेका छन् । चलचित्र विकास बोर्डमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहण गर्दै अध्यक्ष डीसीले आफू यहाँ जागिर खान नआएको भन्दै काम गर्न आएको बताए । 

अध्यक्ष डीसीले आफ्नो ४ बर्षे कार्यकालमा विशेषगरि, विकास बोर्डलाई कर्पोरेट शैलीमा अगाडि बढाउने वाचा समेत गरे । विकास बोर्डका हरेक कामलाई अब आफूले शून्यबाट सुरु गर्ने उनको भनाई थियो । यसअघि बनेका सम्पूर्ण उप–समिति समेत उनले खारेज गरिदिएका छन् । 

बोर्ड अध्यक्ष डीसीले भोलिबाट आफूलाई भेट्न आउँदा समय लिन र खदा र माला लिएर नआउन पनि अध्यक्ष डीसीले आग्रह गरे । 

अध्यक्ष डीसीले आफूलाई बोर्डका कर्मचारीले भ्रष्टाचार गरेको भन्ने महशुश भएको खण्डमा ३० मिनेटमा शक्तिबाट हटाइदिने चेतावनी दिए ।  भ्रष्टाचार गरेको थाहा पाएको ५ मिनेटमा बोर्डको गेटबाट बाहिर निकालिदिने चेतावनी समेत दिए । 

अध्यक्ष डीसीले कर्मचारीहरूलाई विदेश भ्रमणमा रोक लगाउने जानकारी दिए । उनले, विदेशमा आयोजना हुने कार्यक्रममा बोर्डका कर्मचारी नभएर फिल्मीकर्मी जानुपर्ने बताए । 

यस्तै, अध्यक्ष डीसीले मिडियासँग आफूले ३ महिना भेट नगर्ने पनि स्पष्ट पारे । आफूले पदभार सम्हालेको सय दिनपछि मिडियालाई भेटेर अन्तरवार्ता गर्ने उनको भनाई थियो ।