२०८२ मा रिलिज गर्ने भनिएको ‘पूर्ण बहादुरको सारङ्गी’ कात्तिक १५ मा किन ?

सेभेन सिज सिनेमाले वि.सं २०८२ मा रिलिज गर्ने घोषणा गर्दै फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु गरेको थियो । 

प्राविधिक काम सबै भारतको मुम्बईमा गर्ने तयारी यसको निर्माणपक्षको थियो । तर, एकाएक यसको निर्माणपक्षले यही बर्षको तिहारमा फिल्म रिलिज गर्ने घोषणा गर्दै सबैलाई अचम्ममा पारेको छ ।

आज सार्वजनिक भएको फिल्मको फस्टलुकमा फिल्मलाई कात्तिकको १५ गते लक्ष्मीपूजाको दिनबाट छायांकनमा लैजाने घोषणा गरिएको छ । यो मितिमा दुई वटा हिन्दी र दुई वटा नेपाली फिल्म रिलिज हुने पक्का भइसकेको छ । 

सार्वजनिक फस्टलुकमा मुख्य पात्र विजय बराल र प्रकाश सपुतलाई स्थान दिइएको छ । झुस्स दाह्री जुँगामा खुशी देखिएका विजय र स्कुलको ड्रेसमा रमाएका प्रकाश पोष्टरमा देखिएका छन् ।

सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, वुद्दि तामाङ, अन्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, श्याम केसी, जानवी पौडेल लगायतका कलाकारहरुको अभिनय छ ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्मस्को प्रस्तुति रहेको फिल्ममा विनोद पौडेल र प्रतीक सुवेदी निर्माताको रुपमा छन् ।

फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन, प्रशान्त सिवाकोटीको संगीत, सुरेन्द्र पौडेलको सम्पादन छ । यो फिल्मलाई सेभेन सिज इन्टरटेन्मेन्टले नै विश्वव्यापी रिलिज गर्नेछ ।