चलचित्र विकास बोर्डको अध्यक्ष पदमा दिनेश डीसी नियुक्त
चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक तथा कलाकार दिनेश डीसी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज बसेको बैठकले बोर्डको अध्यक्ष पदमा डीसीलाई नियुक्त गरेको हो ।
डीसी नेकपा एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष समेत हुन् । डीसी यसअघि चलचित्र निर्देशक समाजको अध्यक्ष समेत बनिसकेका छन् ।
संचार, सूचना तथा प्रविधि मन्त्रालयले आज बिहानमात्र डीसी सहित अन्य दुई फिल्मीकर्मीलाई अध्यक्ष पदमा नियुक्त गर्नका लागि मन्त्रिपरिषद्मा सिफारिश गरेको थियो । जसमध्ये डीसीलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो ।
फिल्म ‘सुनचाँदी’ मार्फत फिल्म क्षेत्रमा प्रवेश गरेका डीसीले निर्देशन गरेको पछिल्लो फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ थियो ।
नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि सक्रिय डीसीलाई विकास बोर्डको अध्यक्ष पदका लागि प्रबल दाबेदार मानिएको थियो । विकास बोर्डमा पनि अध्यक्षको रुपमा डीसीको आगमन भएको खण्डमा केही सुधारका काम हुने चर्चा चल्ने गरेको थियो ।
फिल्मीकर्मी माझ पनि डीसी विकास बोर्डको अध्यक्ष भएको खण्डमा फिल्म क्षेत्रका लागि निकै फाइदा हुने चर्चा थियो । यो बीचमा सरकारले डीसीलाई नै अध्यक्षमा नियुक्त गरेपछि फिल्मीकर्मीहरु उत्साहित देखिएका छन् ।
विकास बोर्डमा पुगेपछि बक्स अफिसको सुधार, नेपाली चलचित्रको विस्तार र विकासमा आफूले महत्वपूर्ण भूमिका खेल्ने डीसीले बताउँदै आएका छन् ।
दुई बर्षका लागि चलचित्र विकास बोर्डको नेतृत्वमा पुगेका डीसीबाट फिल्म क्षेत्र सुधारका लागि महत्वपूर्ण कामहरु हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया