‘कान्छी तिम्रो नराम्रो बानी’ सार्वजनिक

नेपाली रक ब्यान्ड ‘झिल्के एण्ड दि कम्पनी (जेएटिसी) ले सन् २०२२ को एलबम ‘जवानीको जोशको’ हिट गीत ‘कान्छी तिम्रो नराम्रो बानी’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ । गीतमा व्याण्डका प्रमुख गायक तथा गिटारवादक स्टिभ देवानको शब्द र संगीत छ ।

पोजिटिभ भाईब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क)द्वारा निर्मित म्युजिक भिडियोको छायाङ्कन भारतको दार्जिलिङमा गरिएको छ । भिडियोमा ब्याण्डका सदस्य स्टिभ, दिप्सन र विशाल साथै भारतीय अभिनेत्री संस्कृति थामी फिचर्ड छन् ।

गायक स्टिभले छोटो समयावधिमा गीतको छायाङ्कन गर्नु आफूहरुको लागि चुनौति भएको बताए । ‘पाँच दिन भित्र सबै कुराको योजना बनाउनु र सुटिङ गर्नु हाम्रो लागि सबैभन्दा ठूलो चुनौती थियो तर दार्जिलिङका स्थानीय, हाम्रो टोली र परिवारको माया र समर्थनले सबै चुनौती पार गर्दै भिडियो तयार पार्यौ’, स्टिभले भने ।

व्याण्डका बासिस्ट विशाल हाङ राईले भिडियो रिलिज गर्न पाउँदा आफूहरु उत्साहित रहेको बताउँदै फ्यानले गीत मनपराइदिएकोमा आभार व्यक्त गरे । त्यस्तै ड्रमर दिप्सन केसीले अघिल्लो गीत ‘१८२’ जस्तै ‘कान्छी तिम्रो नराम्रो बानी’ले पनि त्यस्तै माया पाउनेमा आफूहरु ढुक्क रहेको बताए ।

गीतको अडियोलाई रोहिताज गुरुङले साउन्ड फ्युजन स्टुडियोमा रिमास्टर गरेका छन् । एलबम ब्रोकेन एग स्टुडियोमा रेकर्ड, मिक्स र मास्टर गरिएको हो ।

झिल्के एण्ड दि कम्पनी सन् २०१९ मा स्थापना भएको व्याण्ड हो । यसमा स्टिभ देवान (भोकल र गितार), दिप्सन केसी (ड्रम) र विशाल हाङ राई (बास) छन् ।