प्रदीप र सौगातले सुरु गरे ‘पिताम्बर’को छायांकन

भदौको १० गते अर्थात् सोमबारबाट फिल्म ‘पिताम्बर’को छायांकन सुरु गरिएको छ । बालाजुस्थित एनएफडीसी ल्याबबाट फिल्मको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ ।

फिल्मकी निर्देशक कृषा चौलागाईंले छायांकनको पहिलो दिन नायकद्धय सौगात मल्ल र प्रदीप खड्काको मुहूर्त सर्टबाट छायांकन सुरु गरिएको बताइन् । फिल्मका नायक अनुप विक्रम शाही र नायिका आँचल शर्माको बाहेक अन्य सबै कलाकारहरुको छायांकन सुरु गरिएको कृषाको भनाई छ ।

केही दिन काठमाडौंमा छायांकन सकेर बाँकी छायांकनका लागि यसको टिम नवलपरासी पुग्नेछ । फिल्मको पहिलो चरणको छायांकन पनि नवलपरासीमै गरिएको थियो ।

फिल्ममा दयाहाङ राई, प्रमोद अग्रहरी, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव विष्ट, विशाल पहारीको पनि मुख्य भूमिका छ । फिल्ममा नायक आर्यन सिग्देलको विशेष भूमिका रहनेछ ।

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गर्दै यो फिल्मको निर्माण गरिरहेको छ । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा प्रदीप भारद्वाजको लेखन, विशाल चौलागाईंको लगानी छ । फिल्मको बजेट ५ करोड बताइएको छ ।