नीतालाई जुन मितिमा सर्दा पनि गाह्रो
नायिका नीता ढुंगानाले फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति दुई पटक पोष्टपोन्ड गरिसकेकी छिन् । असोजको ११ गते प्रदर्शन मिति फाइनल गरेर उनले असोज ३ गते फिल्मको प्रदर्शन मिति प्रि–पोन्ड गरिन् । तर, यो मितिबाट पनि फिल्म कार्तिकको ३० गते सरिसकेको छ । दुई पटक प्रदर्शन मिति सरेको फिल्म अब यो मितिबाट सर्दैन भन्नेमा दर्शक विश्वस्त छन् ।
विशेषगरि, असोजको ३ गते अन्य दुई वटा फिल्मसँग जुध्नु परेपछि ठूलो बजेटमा बनेको ‘ह्रस्व दीर्घ’लाई गाह्रो परेको थियो । यसैले, कार्तिक ३० गते सोलो रिलिजको आशामा नीता पछि हटिन् ।
तर, कार्तिक ३० गते पनि उनले सोलो रिलिज नपाउने निश्चित भएको छ । यो मितिमा नायक सौगात मल्लको फिल्म ‘बमबहादुर’ रिलिज हुँदैछ । सौगातसँगको भिडन्त नीताका लागि सहज छैन ।
वुझिएअनुसार, नाजिर हुसेन र श्रृष्टी श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘केटी हराएको सूचना’ पनि यही मितिमा रिलिज हुँदैछ । क्यूएफएक्सले बनाएको फिल्म भएका कारण पनि यो फिल्मलाई यो मितिमा शोजको अभाव नहुने पक्का छ ।
विशेष श्रोतका अनुसार, फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’लाई समेत यही मितिमा रिलिज गर्ने तयारी गरिएको छ । तर, निर्माणपक्षले आधिकारिक रुपमा केही पनि घोषणा गरेको छैन ।
यसरीहेर्दा, नीताले कार्तिक ३० मा पनि दुई वटा फिल्मसँग त निश्चित रुपमै भिड्नु पर्नेछ । अब, यो संख्या अझै बढ्न पनि सक्छ ।
दुई पटक प्रदर्शन मिति पोष्टपोन्ड गरेर कार्तिक ३० मा पुगेकी नीतालाई यो मितिमा पनि सहज नहुने देखिएको छ । अब नीताले फिल्मको विषयवस्तुमै ध्यान दिएर प्रचारलाई तीव्रता दिन आवश्यक छ । चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्मलाई एक्सन, पारिवारिक र कमेडी कथामा निर्माण गरिएको छ ।
प्रतिक्रिया