स्वस्तिमाको निर्मात्री बन्दाको अनुभव कस्तो छ ?
फिल्म ‘बेहुली फ्रम मेघौली’बाट नायिका स्वस्तिमा खड्का निर्मात्री बन्दैछिन् । यसअघि थुप्रै फिल्ममा नायिकाको रुपमा प्रस्तुत भएकी स्वस्तिमा यसपटक भने अझै बढी जिम्मेवारी बहन गरिरहेकी छिन् ।
स्वस्तिमालाई निर्मात्री बनेपछि दबाब छ कि छैन होला ? मिडियासँगको कुराकानीमा उनले भनिन्–‘मैले ११ वटा फिल्ममा काम गर्दा, धेरै कुरा सिक्न पाएँ । एउटा कलाकारको रुपमा मात्र नभएर एउटा मानवको रुपमा पनि आफूलाई अझै अव्वल बनाउनुपर्छ भन्ने मलाई लाग्छ ।’
स्वस्तिमाले निर्मात्रीको रुपमा नयाँ पोष्ट सम्हालेपछि भोलिका दिनमा फिल्म चलेपनि नचलेपनि एउटा मानिस भइसकेपछि केही न केही कुरामा आफूमा विकास गर्न सकिने तर्क गरिन् ।
स्वस्तिमाले आफ्नो टिमले आफूलाई यस्तो चुनौतीहरूको सामना गर्न नदिएको बताइन् ।
उनले अगाडि भनिन्–‘सुटिङको समयमा त मैले त्यस्तो च्यालेन्जहरु फेस गर्न परेन । तर, अहिले पोष्टमा काम भइरहँदा भने दौडधूप बढिरहेको छ । मलाई अहिले यो भनेपछि यो हुनुपर्छ भन्ने लाग्छ । अरु बेलामा तयार भएर आयो, मिडियासँग कुरा गर्यो भन्ने हुन्थ्यो । तर, अहिले भने यो किन भएको छैन, त्यो किन भएको छैन भन्ने लाग्दो रहेछ ।’
स्वस्तिमाले आफूले फिल्म निर्माण गर्दा सधैं नै नयाँ अनुहारलाई अवसर दिने बिषयमा सोच्ने गरेको बताइन् । यसैले, अहिले आफ्नो फिल्ममा नयाँ अनुहारहरू धेरै रहेको उनले सुनाइन् । आजका भोगाइहरू भोलिका दिनमा संझदा पनि रमाइलो लाग्ने उनको तर्क छ ।
यो फिल्म असोजको १७ गतेबाट रिलिजमा आउँदैछ । स्वस्तिमा अहिले यो फिल्मको प्रचारमा दौडधूप गरिरहेकी छिन् ।
प्रतिक्रिया