श्रीलंकाको फिल्म फेस्टिभलमा ‘बुलाकी’ छनोट

पुनः रिलिजमा समेत दर्शकको राम्रो साथ पाइरहेको फिल्म ‘बुलाकी’ दक्षिण एसियामा प्रतिष्ठित मानिने श्रीलंकाको सिनेमा महोत्सवमा छनोट भएको छ । ‘जाफना इन्टरनेशनल सिनेमा फेस्टिभल–२०२४’मा यो फिल्म छनोट भएको हो ।

उक्त फेस्टिभल अन्तर्गत ‘उत्कृष्ट डेब्यू फिल्म’ प्रतिस्पर्धामा यो फिल्म छनोट भएको हो । यो महोत्सवको दशौं सँस्करण आगामी सेप्टेम्बरमा हुँदैछ ।

‘बुलाकी’ प्रतिस्पर्धामा छनोट भएको उक्त अवार्ड गत बर्ष नेपाली फिल्म ‘दि रेड सुटकेस’ले जितेको थियो । फिल्मका निर्माता तथा कलाकार विराज विष्टले महोत्सवमा फिल्म छनोट भएको भन्दै खुशी व्यक्त गरे । उनले, अर्को हप्ताबाट फिल्मको अन्तराष्ट्रिय प्रदर्शनी समेत थालनी गरिने जानकारी दिए । 

शुक्रबारदेखि पुनः रिलिजमा आएको फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ । लक्ष्मण सुनारको निर्देशनमा तयार भएको यो फिल्मले पश्चिम नेपालको कर्णाली र सुदुर पश्चिम भेगको सामाजिक कथालाई प्रस्तुत गरेको छ ।

फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज बिष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश वुढाथोकी लगायतका कलाकारहरुको अभिनय छ ।