‘एक्सिस’को नयाँ गीत रिलिज

नेपाली व्यावसायिक रक व्याण्ड ‘एक्सिस’ले ‘पाइला’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । गीतमा बिजु कर्माचार्य र सन्दीप विश्वकर्माको संगीत, रविजंग थापाको शब्द तथा सन्दीपकै स्वर छ ।

भिडियोमा कविता नेपाली (गुरुङ­) र धिरज गुरुङ फिचर्ड छन् । स्पोर्टस जनराको गीतमा कवितालाई बक्सर र धिरजलाई बक्सर प्रशिक्षकको रुपमा देखाइएको छ । भिडियोमा कविता कुशल बक्सर बन्न संघर्षरत छिन् । भिडियोमा व्याण्डका सदस्यहरुलाई पनि स्थान दिइएको छ ।

भिडियोमा व्याण्डको दृश्य निर्देशन बिजु कर्माचार्यले गरेका हुन् । व्याण्डको छायांकन निश्चल श्रेष्ठले र भिडियोका कलाकारको डीओपी जेनिस महर्जनले गरेका हुन् ।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क) ले निर्माण गरेको भिडियो बालाजुस्थित नेपाल चलचित्र विकास संस्थान(एनएफडीसी)को स्टुडियोमा छायांकन गरिएको हो ।

भिडियोमा गौरव विष्टको सम्पादन र रंग संयोजन तथा स्टिभ देवानका प्रोडक्सन छ । भिडियो एक्सिस अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा मानिसहरुलाई आफ्नो दैनिक जीवनको कामबाट हार नमान्न र जीवनमा जतिसुकै कठिन अवस्था आए पनि सफलताका लागि प्रयास गरिरहन सन्देश दिइएको छ । गीतले असफलताका बाबजुद पनि हार नमानी संघर्ष गरिरहन प्रेरित गरेको छ ।

व्याण्डमा सन्दीप विश्वकर्मा(संस्थापक र भोकल), अमूल्य श्रेष्ठ(ड्रम), सजिन महर्जन(बास), निखिल सिकर्मी र रोशन लामा (गीतार) सदस्य छन् ।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले व्याण्ड ‘एक्सिस’को व्यवस्थापन हेर्दै आएको छ । बिकेश कायस्थको नेतृत्वमा रहेको नेटवर्कमा सुमन महर्जन श्रेष्ठ र स्टिभ देवान सदस्य छन् । नेटवर्कले संगीतका तीन पुस्ताको कार्यक्रम आयोजना गरिसकेको छ । जसमा नेपथ्य, बालेन, पुर्ण राई एण्ड दाजु भाईलगायतका व्याण्ड पर्छन् ।