२२ दिनमै सकियो ‘कार्साङ’को छायांकन

२२ दिनमा फिल्म ‘कार्साङ’को छायांकन सकिएको छ । यम शेर्पाले निर्देशन गरेको यो फिल्मको छायांकन सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा गरिएको छ ।

सबैको मिहिनेतका कारण २२ दिनमा नै फिल्मको काम सकिएको निर्माणपक्षले बताएको छ । निर्देशक यमले पोष्ट प्रोडक्शनमा पनि सोचे अनुरूप नै काम भयो भने चाँडै नै रिलिज गर्ने जानकारी दिए । यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा यो फिल्मको निर्माण गरिएको हो । फिल्ममा नायक दयाहाङ राई र नव–नायिका सिर्जना निङ्लेखुको मुख्य भूमिका छ ।

सामाजिक कथावस्तुमा निर्माण भएको यो फिल्ममा निर्देशक शेर्पाको कथा, पटकथा तथा संवाद छ । यो फिल्ममा जितु नेपाल, दिया मास्के, वुद्धि तामाङ, प्रेम लोप्चन, डोमा होल्मो, श्रृष्टी गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पाको अभिनय छ ।

बाल–कलाकारहरु राशी लिम्बु र सोहन थापाको पनि फिल्ममा अभिनय छ । पुरुषोत्तम प्रधानको निर्माण तथा छायांकनमा यो फिल्म तयार भएको हो ।