को बन्ला बोर्ड अध्यक्ष ? करिश्मा, दिनेश र राजेशकुमारको आवेदन
चलचित्र विकास बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि नेपाल सरकारले आह्वान गरेको आवेदनको मिति भोलि सकिँदैछ । अहिलेसम्म बोर्ड अध्यक्षका लागि तीन जनाको आवेदन परेको छ ।
जसमा, निर्देशक तथा कलाकार दिनेश डीसी, नायिका करिश्मा मानन्धर र संस्कृतकर्मी राजेश कुमार थापा छन् ।
यी तिनै जना नेकपा एमाले निकट भातृ संगठनसँग जोडिएका छन् । साउनको १६ गते संचार तथा सूचना प्रविधि मन्त्रालयले आवेदनका लागि सूचना निकालेको थियो ।
आवेदन दिने मिति सकिएपछि मन्त्रालयले कार्ययोजना, प्रस्तुतीकरण र अन्तरवार्ता दिनका लागि सूचना जारी गर्नेछ । यसपछि, मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिश गर्नेछ । मन्त्रीपरिषद्ले तीन जनामध्ये एक जनालाई विकास बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।
विशेष स्रोतले मेरो फिल्मलाई दिएको जानकारी अनुसार, यसपटक निर्देशक दिनेश डीसीको संभावना उच्च छ । वुझिएअनुसार, सरकारले चलचित्र विकास बोर्डका अध्यक्षको कार्यकाल सम्बन्धी कार्यविधिलाई पनि शंसोधन गर्दैछ ।
हाल दुई बर्ष रहेको कार्यकालको समयसीमा बढाएर ४ बर्ष बनाउन लागिएको हो । अब बन्ने बोर्ड अध्यक्षले ४ बर्ष नै विकास बोर्डको अध्यक्ष पद हाँक्ने मेरो फिल्मलाई स्रोतले जानकारी दियो ।
प्रतिक्रिया