बक्स अफिसमा सुक्खा साउन
साउन महिनामा रिलिजमा आएका फिल्मको व्यापार दयनीय नै छ । निर्माताले एउटै फिल्ममा करोड माथि खर्च गरेपनि व्यापार भने लाखमा सीमित छ । यसले, साउन महिना नेपाली फिल्मका लागि सुक्खा नै बनेको देखिन्छ ।
साउनको ३२ गतेबाट पुनः रिलिजमा आउन लागेको फिल्म ‘बुलाकी’लाई छाड्ने हो भने अन्य फिल्मको व्यापार निकै नै कमजोर देखियो ।
साउनको ११ गतेबाट रिलिजमा आएको फिल्म ‘ईश्वर’ बक्स अफिसमा फिक्का बन्यो । साउनको १८ गतेबाट रिलिजमा आएको फिल्म ‘मोदीबेनी’ माथि भने आशा केही थियो । तर, यो फिल्म पनि बक्स अफिसमा चम्किन सकेन । निर्माताले फिल्म निर्माण र प्रचारमा राम्रै रकम खर्च गरेपनि फिल्म बक्स अफिसमा जम्न सकेन ।
साउनको २५ गतेबाट रिलिजमा आएको फिल्म ‘नम्बरी सुन’ पनि कमजोर देखियो । यो महिना निर्देशक राजु गिरीका दुई वटा फिल्म रिलिज भए, तर दुबै फिल्म व्यापारिक रुपमा कमजोर सावित भए ।
यस्तै, यही महिना फिल्म ‘शिरीषको फूल’ पनि रिलिजमा आयो । यो फिल्म आएको र गएको नै दर्शकले पत्तो पाएनन् । यसरी हेर्दा, साउन महिनाले पनि सुनसान बनिरहेको बक्स अफिसलाई चलायमान बनाउन सकेन । अब, भदौ महिनामा केही आशातीत फिल्म रिलिज हुन लागेकाले पनि नेपाली फिल्मको बक्स अफिस चलायमान हुने आशा गर्न सकिन्छ ।
वैशाख र जेठ महिनामा जुन रफ्तार नेपाली फिल्मले समातेको थियो, असार लागेपछि त्यो रफ्तार खुम्चिएको छ ।
प्रतिक्रिया