कस्तो छ ‘ह्रस्व दीर्घ’को ‘उठेर नाचिस्यो’ गीत ?
असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मुख्य कलाकारहरू नीता ढुंगाना, हरिहर अधिकारी र प्रदीप राउतलाई फिचरिङ गरिएको छ ।
दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको यो गीतमा सदिक्षा कट्टेलको पनि स्वर सुन्न सकिन्छ । सुष्मा सुनामको कोरियोग्राफी रहेको गीतको भिडियोलाई भव्य सेटमा खिचिएको छ । यो गीतको भिडियोले पनि फिल्मको मेकिङ दर्शाउँछ । भिडियोको सेट निर्माणमा कुनै कन्जुस्याइँ गरिएको छैन ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यो फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा ब्रहानन्दम, अली, कविर दुहान सिंह, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुइटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्दि तामाङ, किरण केसी, रेखा थापा लगायतका कलाकारहरुको अभिनय छ ।
यो फिल्ममा हरिहरको कथा, प्रतीक पौडेल, चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद छ । चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्ममा कविरलालको डीओपी छ । यो फिल्मलाई नेपाली, तेलुगु र हिन्दी भाषामा रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।
प्रतिक्रिया