सुरक्षा भन्छिन्–‘मलाई स्टार होइन, चन्द्रमा बन्नुछ’

नायिका सुरक्षा पन्तले आफू स्टार नभएर चन्द्रमा हुन चाहेको बताएकी छिन् । साउनको ३२ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘बुलाकी’को प्रचारका क्रममा मिडियासँग कुराकानी गर्दै सुरक्षाले आफूलाई स्टार  हुन मन नलागेको सुनाइन् ।

उनले भनिन्–‘म चन्द्रमा हुन चाहन्छु । मलाई स्टार हुनु छैन । चन्द्रमा जसले सबैलाई उज्यालो दिन सक्छ । समुन्द्रमा आँधी ल्याउन सक्छ । स्टार त कती छ कती ?’

तर, यसो भन्दै गर्दा आफू स्टार हुने बाटोमा रहेको खण्डमा त्यसलाई निर्वाह गर्ने प्रयास भने गर्ने उनको भनाई छ । उनले भनिन्–‘यदि मेरो यात्रा स्टारतर्फ लाग्दैछ भने, मैले त्यसलाई राम्रोसँग निर्वाह गर्र्नुपर्छ भन्ने मलाई थाहा छ । म भित्र त्यो निष्ठा भने छ ।’

सुरक्षा अभिनित अधिकांश फिल्मले व्यापारिक रुपमा  सफलता नपाएपनि उनको कामको भने तारिफ भइरहेको छ । कतिपयले सुरक्षाले व्यापारिक भन्दा पनि आर्ट मुभी बढी गरेको टिप्पणी पनि गर्छन् । 

तर, नायिका पन्तले केही कमर्सियल हिट फिल्म पनि दिएकी छिन् । उनको हातमा केही फिल्म छन्, जुन रिलिजका लागि तयार छन् । सुरक्षाले ‘बुलाकी’ फेरि सफल हुने विश्वास पनि व्यक्त गरेकी छिन् ।