‘नम्बरी सुन’मा राजेन्द्र अंकलसँग एक्सन गर्दा नर्भस भएँः गौरव पहारी
फिल्म ‘होस्टेल’बाट आफ्नो करिअर सुरुवात गरेका नायक गौरव पहारीले थुप्रै चरित्र निर्वाह गरिसकेका छन् । कमेडी, प्रेम, एक्सन र राष्ट्रियताको कथामा उनलाई दर्शकले हेरिसकेका छन् । तर, यसपटक उनले फिल्म ‘नम्बरी सुन’मा भने नयाँ स्वाद दिने तयारी गरेका छन् ।
यो फिल्म शुक्रबारदेखि रिलिजमा आउँदैछ । उनले फिल्मको बिषयमा भने–‘म एउटै पात्रले कमेडी, रोमान्स, ड्रामा, एक्सन सबै भूमिका गरेको छु । तर, सबै चरित्रहरू एउटै क्यारेक्टरमा देखिनुपर्ने भएकाले पनि नम्बरी सुनमा काम गर्न तयार भएको हुँ ।’ फिल्ममा गौरव तल्लो वर्गको र नायिका नम्रता सापकोटा माथिल्लो वर्गको पात्रमा देखिदैछन् ।
उनले भने–‘मैले तल्लो वर्गको प्रतिनिधित्व गरेको छु । जसको प्रेम मुखियाकी छोरीसँग हुन्छ । फिल्ममा मेरो बुबा पात्रले सुन बनाउने काम गर्नुहुन्छ । त्यो समयमा अहिलेको जस्तो सुन पसल हुँदैनथ्यो । फिल्ममा मेरो बुबाले गाउँ डुल्दै गाउँका मुखियाहरुकोमा महिनौं बिताएर सुन बनाउनुहुन्छ ।’
गौरवका अनुसार, फिल्ममा उनको भूमिका सहयोगी किसिमको छ । एउटै पात्रले फरक फरक चरित्र निभाउँदा पनि आफूलाई असहज नभएको गौरव बताउँछन् । यो फिल्ममा राजेन्द्र खड्गीसँग गौरवको एक्सनको दृश्य छ । उक्त दृश्य खिचिरहँदा आफू नर्भस भएको गौरवले बताए ।
एउटा दृश्यमा राजेन्द्र खड्गीको टाउको छुनुपर्ने थियो । तर, गौरवले उनको टाउकोमा नै बजाइदिए । यसपछि, गौरव नर्भस भए । तर, आफूलाई खड्गीले भने हौसला दिएको उनको भनाई छ ।
गौरवले यो फिल्म आफ्नो लागि सधैं सम्झिरहने प्रोजेक्ट भएको दाबी गरे । आफूलाई यो फिल्मको जनरा मन परेको उनले सुनाए । गौरवले अब आफूलाई नेगेटिभ क्यारेक्टर गर्न मन लागेको बताए । उनले भने–‘नेगेटीभ भूमिका गर्न मन छ । तर, उक्त चरित्र देख्दा भिलेन जस्तो नदेखियोस् । देख्ने वित्तिकै भिलेन होइन, बानी व्यवहारले भिलेन जस्तो ।’
राजु गिरीको निर्देशनमा तयार भएको यो फिल्मले दर्शकको माया पाउने विश्वास गौरवको छ ।
प्रतिक्रिया