भदौमा रिलिजको मात्र होइन, छायांकनको चाप पनि उस्तै

भदौ महिनामा ६ वटा फिल्म रिलिज हुने पक्का भइसकेको छ । ‘सतीदेवी, नमेटिने घाउ, वर एण्ड बधु, रावायण, देवी र शाम्बला’ यो महिनामा रिलिज हुनेछन् । यसैले, भदौ महिना नेपाली फिल्म मेकरका लागि विशेष हुने देखिन्छ । 

यो महिनामा रिलिज हुन लागेका फिल्ममध्ये बक्स अफिसमा कुन चम्किएला भन्ने अड्कलबाजी पनि चलिरहेको छ । तर, भदौ महिनामा रिलिजको मात्र नभएर छायांकनको चाप पनि उस्तै देखिएको छ । अधिकांश मेकरले भदौबाट फिल्मको छायांकन सुरु गर्ने तयारी गरेका छन् । 

साउनको २५ गतेबाट छायांकनमा जान लागेको फिल्म ‘के घर के डेरा’को निर्माण टिमले भदौ महिनाभर पनि क्यामेरा अन नै गर्नेछ । जसकाकारण, भदौमा यो फिल्मको छायांकनको लागि निर्देशक दीपेन्द्र के खनालको टिम काठमाडौंका विभिन्न स्थानमा दौडधुपमा व्यस्त हुनेछ । 

भदौको ३ गतेबाट फिल्म ‘जेरीः अन टप’को छायांकन सुरु गर्ने गरि निर्देशक सुयोग गुरुङ र निर्माता सरोज न्यौपाने लागिपरेका छन् । 

यस्तै, भदौमा फिल्म ‘पिताम्बर’को पनि छायांकन सुरु गर्ने तयारीमा यसको निर्माणपक्ष छ । निर्देशक कृषा चौलागाई अहिले फिल्मको वर्कशपमा व्यस्त छिन् । 

यता,  निर्देशक दीपेन्द्र लामा पनि फिल्म ‘दुःखी आत्मा’को छायांकन भदौमा नै गर्ने तयारीमा छन् । यसका लागि उनले वर्कशप पनि सुरु गरिसकेका छन् । 

नायक दयाहाङ राई फिल्म ‘कार्साङ’को छायांकनमा व्यस्त छन् । यो फिल्मको छायांकन पनि भदौ महिनामा जारी रहनेछ । 

फिल्म ‘बिमानचालक’को पनि छायांकन भदौ महिनामा नै सुरु गर्ने तयारी गरिएको छ । यसका लागि फिल्मको वर्कशप पनि जारी छ । 

यस्तै, दिवाकर भट्टराइले नायक राजेश हमाललाई लिएर बनाउन लागेको फिल्मको छायांकन पनि भदौ महिनामा नै  सुरु गर्ने तयारी गरिएको छ । 

निर्देशक प्रकाश  सपुतले फिल्म ‘बसन्त’को छायांकन पनि भदौको दोस्रो साताबाट गर्ने तयारी गरेका छन् । 

यसरीहेर्दा, भदौ महिनामा फिल्म छायांकनको लामो लाइन लाग्ने देखिन्छ । भदौमा छायांकन हुन लागेका धेरै फिल्मले प्रदर्शन मिति पनि तोकिसकेका छन् ।