भदौमा आँचललाई तीन फिल्म छायांकनको दबाब

नायिका आँचल शर्माका लागि भदौ महिना निकै नै कसिलो देखिएको छ । छायांकन र रिलिजको दबाबका बिच उनले कसरी समय मिलाउने हुन्, हेर्न बाँकी छ । हातमा आधा दर्जन फिल्म लिएर बसेकी आँचलको भदौ महिनामा तीन वटा फिल्मको छायांकन गर्ने सेड्यूल छ । 

भदौको ३ गतेबाट निर्माता सरोज न्यौपाने र निर्देशक सुयोग गुरुङले फिल्म ‘जेरीः अन टप’को छायांकन गर्ने तयारी गरेका छन् । यो फिल्मको छायांकन करिब एक महिना नेपालमा चल्नेछ । यसपछि, भारतको लद्दाकमा फिल्मको छायांकन गर्ने सेड्यूल छ । 

यता, निर्देशक कृषा चौलागाई पनि फिल्म ‘पिताम्बर’को छायांकन भदौमा नै गर्ने तयारीमा छिन् । आँचलले यो फिल्मका लागि पनि समय दिनुपर्नेछ । 

निर्देशक दीपेन्द्र लामाले फिल्म ‘दुःखी आत्मा’को तयारी गरिरहेका छन् । यो फिल्मका मुख्य कलाकारद्धय दयाहाङ राई र आँचल शर्मा भने वर्कशपमा छैनन् । तर, केही हप्तामा नै उनले पनि छायांकन गर्ने जानकारी दिएका छन् । यसरीहेर्दा, भदौमा आँचलले तीन फिल्मका लागि सेड्यूल मिलाउनुपर्ने देखिएको छ । 

भदौको १४ गते फिल्म ‘बर एण्ड वधु’ रिलिज हुँदैछ । यो फिल्मको प्रचारका लागि पनि आँचलले समय दिनुपर्नेछ । यसरीहेर्दा, भदौ महिना आँचलका लागि सर्वाधिक व्यस्त हुने देखिन्छ । 

हाल अमेरिकामा रहेकी आँचल केही दिनमा नेपाल फर्किदैछिन् । यसपछि, उनले यी सबै फिल्मका लागि काम गर्नुपर्नेछ । के, आँचलले यी सबै फिल्मको सेड्यूल मिलाउन सक्लिन् त ?