नयाँदेखि पुराना नायकहरुको ‘एक्सन’ मोह

लभ स्टोरी फिल्ममा रुचाइएका नायक पल शाह भदौको २१ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रावायण’मा एक्सन अवतारमा देखिदैछन् । फिल्ममा उनको दोहोरो भूमिका छ । तर, दुबै भूमिकामा उनी एक्सन गर्दै गरेको अवस्थामा देखिएका छन् । यसले, पलको एक्सन फिल्मप्रतिको मोह झल्काउँछ । 

भदौमा छायांकनमा जान लागेको फिल्म ‘पिताम्बर’मा नायक प्रदीप खड्काको एक्सन अवतार छ । विशेष श्रोतका अनुसार, यो फिल्ममा उनी ‘पुष्पा’मा अल्लु अर्जुनले गरे जस्तै एक्सन अवतारमा देखिनेछन् । 

भदौको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘वर एण्ड बधु’का लागि द्धन्द्ध निर्देशक हिमाल केसीले नव–नायक विवेक कर्माचार्यलाई एक्सन अवतारमा ढालेका छन् । ७ मिनेट लामो एक द्धन्द्धको दृश्यमा विवेकको एक्सन देख्न सकिन्छ । 

गतबर्षसम्म अर्गानिक कथामा बढी भर परेको नेपाली फिल्म क्षेत्र यो बर्ष एक्सनमा बढी केन्द्रित छ । विशेषगरि, बलिउड फिल्म ‘एनीमल’ले धमाका मच्चाएपछि नेपालमा पनि एक्सन फिल्महरुको निर्माणले गती लिएको हो । नायकहरु विराज भट्ट र निखिल उप्रेतीको युगपछि फिल्म क्षेत्रमा एक्सन फिल्मको निर्माणमा कमी आएको थियो । तर, यो बर्ष एक्सन फिल्मको वर्चस्व हुने देखिदैछ । 

गतबर्ष फिल्म ‘अगस्त्य’मा सौगात मल्लको एक्सनले दर्शकको राम्रै तारिफ बटुलेको थियो । 

नायक विराज भट्ट पनि एक्सन फिल्म ‘१२ गाउँ’ लिएर दर्शकमाझ आउँदैछन् । यही फिल्मबाट उनले छोरा समीर भट्टलाई पनि डेब्यू गराएका छन् । फिल्मको एक्सनका लागि दक्षिण भारतीय फिल्म नगरीबाट एक्सन निर्देशक बोलाइएको छ । 

लभ स्टोरी फिल्म बनाउन माहिर निर्माता सन्तोष सेन फिल्म ‘बलिदान’ बनाउँदैछन् । यो फिल्मको मुख्य भूमिकामा समीर भट्टले काम गर्दैछन् । फिल्मका लागि ५० जना प्राविधिक नै भारतबाट झिकाइएको छ । 

यसरीहेर्दा, नेपालमा यो बर्ष एक्सन फिल्मको लहर चल्ने देखिन्छ । फिल्म ‘शकुन्तला’मा काम गरेपछि केही वर्ष फिल्म नगरेका नायक राजेश हमाल पनि एक्सन फिल्मबाटै कमब्याक गर्दैछन् । उनले, दिवाकर भट्टराइको नयाँ एक्सन फिल्म आइतबारमात्र साइन गरेका छन् । 

फिल्म आउटलः दफा २१९ पनि एक्सनप्रधान छ । नायक सुशिल श्रेष्ठको एक्सन अवतारले दर्शकको मन जितिरहेको छ । फिल्मको टिजर रिलिज भएपछि यसको हाइप पनि ह्वात्तै बढेको छ । यो फिल्मबाट सुशिलले बलियो कमब्याक गर्ने अपेक्षा गर्न सकिन्छ । 

नयाँदेखि पुराना सबै नायकहरुलाई एक्सनको लहरले छोएको छ । अब, यी फिल्महरुलाई दर्शकले कसरी लिने हुन्, त्यो बक्स अफिस रिलिजपछि थाहा हुनेछ । 

तर, उस्तै प्रकृतीको कथा हेरिरहेका दर्शकलाई फेरि केही फरक स्वाद दिन नेपाली मेकरहरु भने लागिपरेका छन् ।