ओलीले गरे ‘नमेटिने घाउ’को डबिङ्ग, भदौ ७ बाट रिलिज हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’को डबिङ गरेका छन् । शनिबार अनामनगरस्थित ‘द म्युजिक इरा रेकर्डिङ स्टूडियो’मा पुगेर ओलीले आफ्नो दृश्यको डबिङ गरेका हुन् । फिल्ममा ओली प्रधानमन्त्रीकै भूमिकामा छन् ।

यो फिल्ममा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, सांसद ज्ञानेन्द्र शाही लगायतको पनि अभिनय छ । यसैबिच, निर्माणपक्षले यो फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ । यो फिल्मलाई भदौको ७ गतेबाट देशभरका हलमा रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।

यो फिल्मले एसिड आक्रामणमा परेका मानिसहरुको कथा भन्छ । एसिड आक्रामणमा परेका ३३ जनाकोक थालाई समेटेर यो फिल्म बनाइएको छ । लेखक शिवम् अधिकारीले साढे दुई बर्ष लगाएर यो फिल्म लेखेका हुन् । फिल्ममा मुस्कान खातुन, प्राप्ती पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य लगायतका कलाकारहरुको अभिनय छ ।

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो फिल्ममा प्रहरी उपरीक्षकद्धय बाल नर्सिह राण र कुमुद ढुंगेल, प्रहरी निरिक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको पनि अभिनय छ । नीरज कँडेलको छायांकन रहेको फिल्ममा बनिश शाहको सम्पादन, ओम सुनारको संगीत, किरण ढकालको एक्सन छ ।