‘नम्बरी सुन’की सोझी नम्रता

साउनको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नम्बरी सुन’लाई लिएर नायिका नम्रता सापकोटा उत्साहित छिन् । यो फिल्ममा उनी सोझी यूवतीको भूमिकामा देखिदैछिन् । उनले आफ्नो भूमिकाबारे भनिन्–‘म खानदानी परिवारको मुखियाको छोरीको भूमिकामा छु । उसमा कुनै घमण्ड छैन । आफू भन्दा तल्लो जातको यूवकसँग प्रेम गर्छे ।’

आफ्ना हरेक फिल्ममा फरक फरक चरित्र निभाउन चाहने नम्रता दर्शकले आफूलाई ‘नम्बरी सुन’मा पनि फरक  भूमिकामा नै हेर्न पाउने दाबी गर्छिन् । ‘आफ्नो प्रेम प्राप्तिका लागि मेरो पात्र लड्छे । आफूले माया गरेको प्रेमीको लागि कुन हदसम्म जानसक्छे भन्ने किसिमको चरित्रमा देखिन्छु’, उनी भन्छिन् ।

उनी अगाडि भन्छिन्–‘मैले अहिलेसम्म सोझो, बदमास, चुलबुले चरित्र निभाएँ । तर ‘नम्बरी सुन’मा शुद्ध इन्टेन्स लभ देखिन्छ । मैले यो फिल्ममा धेरै बोल्नु पनि परेको छैन । मेरो एक्सप्रेसिभ क्यारेक्टर छ । भाव नै प्रकट गरेको छु जस्तो लाग्छ’, नम्रता खुल्छिन् ।

उनी दर्शकले आफ्नो लागि भन्दा पनि कथाका लागि ‘नम्बरी सुन’ हेर्नुपर्ने धारणा राख्छिन् । ‘मेरो लागि मात्र फिल्म हेर्नुपर्छ भन्ने छैन । जुन कुरामा म विश्वास गर्दिनँ । दर्शकसँग समय छ र हलमा गएर आनन्दले फिल्म हेर्न चाहनुहुन्छ भने ती दर्शकका लागि ‘नम्बरी सुन’ एउटा राम्रो फिल्म बनेको छ’, नम्रता भन्छिन्, ‘यसमा विशुद्ध नेपाली अग्र्यानिक कथा छ । गाडी पनि नपुगेको गाउँमा गएर हामीले एक महिना सुटिङ गरेका छौं । त्यो बेलामा यस्तो पनि हुँदो रहेछ भन्ने कुरा थाहा पाउन यो फिल्म हेर्नुपर्छ ।’

नम्रताले अब आफूलाई ‘डार्क’ किसिमको कथामा काम गर्ने इच्छा रहेको बताइन् । साउनको २५ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् ।